काठमाडौं, असोज १९ । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीको वातावरण सुधार गर्न सुधारिएका कानूनहरू प्रभावकारी रूपमा लागू हुनुपर्ने तथ्य औंल्याउनु भएको छ ।
काठमाडौंमा आज आयोजित नेपाल पूर्वाधार सम्मेलन तयारीसम्बन्धी लगानी र विकासका लागि कानून सुधार परामर्शको तीनदिने कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै ढकालले यस्तो बताउनु भएको हो ।
उहाँले आर्थिक सुधारका लागि तयार पारिएको सुझावलाई कार्यान्वयन गर्नसके नेपालमा स्वदेशी तथा विदेशी लगानी बढ्नुका साथै रोजगारी र राजस्व सिर्जनामा समेत सहयोग पुग्ने उल्लेख गर्नुभयो ।
ढकालले महासंघको अध्यक्ष रहँदा नै नेपालको लगानी प्रवद्र्धनसम्बन्धी कानुनहरू पुरानो र परम्परागत रहेको भन्दै तिनमा सुधारका लागि उच्चस्तरीय आयोग वा सुझाव संयन्त्र बनाउनुपर्ने प्रस्ताव आफूहरूले अघि सारेको स्मरण गर्नुभयो ।
त्यसैको निरन्तरताका रूपमा सरकारले उच्चस्तरीय आर्थिक सुधार आयोग गठन गरेको ढकालको भनाइ छ । आफू निजी क्षेत्रको प्रतिनिधिका रूपमा आयोगको सदस्य भएर काम गरेको बताउँदै ढकालले कतिपय कानुनहरू नयाँ ल्याइए पनि कार्यान्वयनमा जान नसकेको बताउनु भयो ।
ढकालले सरकारको पहिलो मन्त्रिपरिषद् बैठकबाट सार्वजनिक गरिएका सयबुँदे निर्णयमध्ये अधिकांश निजी क्षेत्रले दिएका सुझावका आधारमा अघि बढाइएको भए पनि अझै पनि धेरै निर्णय कार्यान्वयनमा जान नसकेको बतउनु भयो ।
‘नेपालमा लगानी बढाउने, रोजगारी सिर्जना गर्ने र आर्थिक गतिविधि विस्तार गर्ने काममा निजी क्षेत्र सरकारसँग सहकार्य गरेर अघि बढ्न तयार छ,’ ढकालले भन्नुभयो ।












प्रतिक्रिया दिनुहोस्