जनता टाइम्स

२२ असार २०७६, आईतवार १६:४५

समाजवाद उन्मुख बजेटले सबैलाई समेटेको छः अर्थमन्त्री खतिवडा


काठमाडौँ, असार २१

अर्थमन्त्री डा युवराज खतिवडाले आव २०७६÷७७ को बजेटले सबैलाई समन व्यवहार गरेको स्पष्ट पार्नुभएको छ ।

राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा अर्थ मन्त्रालयका सम्बन्धमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले बजेटले कुनै पनि प्रदेश वा खास क्षेत्रलाई भेदभाव नगरेको बताउनु भएको हो ।

उहाँले बजेट समाजवाद उन्मुख भएको भन्दै कसैलाई समाजवाद प्रति विश्वास छैन भने छलफल गरौं हैन भने बजेटले कसैलाई विभेद गरेको छैन भन्नुभयो ।

उहाँले एकले अर्कोलाई आरोप लगाउने भन्दा पनि राष्ट्रिय एजेण्डमा मिलेर जाने हो, तब मात्र मुलुकलाई समृद्ध नेपाल बनाउन सकिने बताउनु भयो ।

‘भूगोल र जनसङ्ख्याको मापदण्डका आधारबाट सन्तुलित रुपमा बजेट विनियोजन भएको छ’, उहाँले भन्नुभयो ‘प्रदेशगत र स्थानीय तहगत रुपमा पनि मानव विकास सूचकाङ्कका आधारमा पनि बजेट जाने भएकाले शिक्षा, स्वास्थ्यलगायत विषयलाई प्राथमिकता दिएर विनियोजन भएको छ।’

पुराना आयोजनालाई छाडेर जान नसकिने भएकाले केही जिल्लामा बढी आयोजना परेको जस्तो देखिएको भन्दै उहाँले प्राथमिकताका आधारमा सबै क्षेत्रमा समानुपातिक रुपमा नै बजेट विनियोजन भएको बताउनु भयो ।