जनता टाइम्स

२२ असार २०७६, आईतवार १७:३०

तनहुँ जलविद्युत आयोजनाको संरचना निमार्णको लागि चार कम्पनीद्वारा बोलपत्र पेश


 

काठमाडौं, असार २१

तनहुँ जलविद्युत आयोजनाको बाँध लगायतका पहिलो प्याकेजको संरचना निर्माणका लागि ४ वटा कम्पनीहरुले बोलपत्र पेश गरेका छन्।

आयोजनाको प्रवर्द्धक तनहुँ हाइड्रोपावर लिमिटेडले बोलपत्र पेश गर्न दिएको अन्तिम दिन आइतबार ४ कम्पनीले प्राविधिक र वित्तीय बोलपत्र पेश गरेका हुन्।

बोलपत्र पेश गर्ने कम्पनीहरुमा चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेड चाइना, सिनो हाइड्रो कर्पोरेसन लिमिटेड चाइना, चाइना नेशनल इलेक्ट्रिक इन्जिनियरिङ कर्पोरेसन लिमिटेड र सोङ डा कर्पोरेसन भियतनामरकालिका कन्ट्रक्सन नेपाल जेभी रहेका छन्।

कम्पनीहरुले पेश गरेको प्राविधिक बोलपत्रको मूल्याङकन गरी सारभूत रुपमा प्रभावग्राही कम्पनीको मात्रै वित्तीय प्रस्ताव खोलिने तनहुँ हाइड्रोपावर लिमिटेडका प्रवन्ध–सञ्चालक प्रदीपकुमार थिकेले बताए।

तनहुँ हाइड्रोपावर लिमिटेडका प्रवन्ध–सञ्चालक प्रदीपकुमार थिकेले प्राविधिक बोलपत्रको मूल्याङकन आगामी भदौको दोस्रो साता भित्रमा सम्पन्न गरी सहमतिका लागि एडीबीमा पठाउँने जानकारी दिनुभएको छ । उहाँले एडीबीबाट सहमति आएपछि वित्तीय प्रस्ताव खोल्ने बताउनु भयो ।

पहिलो संरचना निर्माणका लागि इटालियन कम्पनी सिएमसीसँग भएको ठेक्का सम्झौता रद्द गरिएपछि तनहुँ हाइड्रोपावरले गत १२ वैशाखमा पुनः अन्तर्राष्ट्रिय टेण्डर आव्हान गरेको थियो।

निर्माण व्यवसायी कम्पनीले आयोजनाको १४० मिटर अग्लो कंक्रिट बाँध, नदी फर्काउने दुईवटा सुरुङ, अस्थायी बाँध लगायतका संरचना निर्माण गर्नु पर्नेछ।