जनता टाइम्स

२२ असार २०७६, आईतवार १९:०२

एनआरएन अमेरिकाद्वारा सत्तारुढ नेकपालाई बहिस्कार : साधारण सभा कांग्रेसको जागरण भेलामा परिणत


सिकागो (अमेरिका), असार २२

अमेरिकी शहर सिकागोमा शनिबारबाट सुरु भएको गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको आठौँ साधारण सभा कांग्रेसी जागरण भेलामा परिणत भएको छ । साधारण सभामा नेपालबाट सत्तारुढ दललाई पुरै वहिष्कार गरिएको छ ।

एनआरएन विदेशमा बस्ने नेपालीहरुको एउटै मात्र संस्था हो जसलाई नेपाल सरकारले मान्यता दिएको छ । यसका गतिविधि र सम्बन्ध सिधै नेपाल सरकारसँग हुने भएपनि सत्तारुढ दलका एक जनालाई पनि आयोजकले निमन्त्रणा गरेनन् । संबिधान जारी हुँदा न्यूयोर्कमा जलाउनेहरु नै नेतृत्वमा आएपछि नेपालको सत्तारुढ प्रमुख दललाई बहिस्कार गरेर बदला लिइएको छ । प्रमुख अतिथिका रुपमा एनआरएनसँग कुनै साइनो र सम्बन्ध समेत नभएका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छेदार सहभागी भएका थिए । सधैँभरि मालदार मन्त्रालय रोज्ने गच्छेदारलाई प्रमुख अतिथि बनाएर एनआरएन अमेरिकाले नेपाल सरकारसँग कस्तो सम्बन्ध गाँस्न चाहेको हो रहस्यको विषय बनेको छ ।

दोहोरो नागरिक, दोहोरो करमुक्ति, भिसा लगायतका क्षेत्रमा एनआरएनहरुको नेपाल सरकारसँग अझै पनि धेरै विषयहरु टुंगो लगाउन बाँकी छ । सरकारलाई प्रवासमा रहेका नेपालीहरुको बारेमा धेरै विषयहरुमा बुझाउन, जानकारी गराउन बाँकी नै छ । तर काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर भन्ने उखानलाई चरितार्थ गर्दै एनआरएन अमेरिकाको नेतृत्वले साधारण सभालाई नेपाली कांग्रेसको जागरण भेलाको रुप दिएको छ । सरकारको तर्फबाट प्रतिनिधित्व गर्नका लागि एकजना मन्त्रीलाई पनि अतिथिका रुपमा आमन्त्रण गरिएन । सत्तारुढ दलका नेता, सांसदलाई समेत निमन्त्रणा गरिएन ।

प्रमुख अतिथीका रुपमा बोलाइएका गच्छेदारका अलावा एनआरएनसँग कुनै सम्बन्ध र साइनो नभएकालाई नेपालदेखि टिकट काटेर बोलाउने, मञ्चमा राखेर खादा ओढाउने काम भयो । नेपालमा हैसियत नभएका तरुण दल अध्यक्ष जीतजंग बस्नेत, कांग्रेसका नेताहरु कल्याण गुरुङ्ग, गोबिन्द भट्टराई, कांग्रेस सांसद सञ्जय गौतम लगायतलाई निकै महत्वका साथ आशनग्रहण गराएको एनआरएन अमेरिकाकै सदस्यहरुले पचाउन सकेका थिएनन् । नेपालमा छँदा नेपाली कांग्रेससँग निकट रहेकाहरुनै नेतृत्वको कृयाकलाप र कांग्रेस नेताहरुको चाकडीमा लिप्त देखेर लज्जित भएका थिए ।

विजय गच्छेदारलाई प्रमुख अतिथि बनाउने गरि निमन्त्रणा गर्ने विषय कहिल्यै पनि कार्यसमितिमा छलफल भएको थिएन । नत नेपालबाट आएका अरु व्यक्तिको विषयमा छलफल भएको थियो, एनआरएन अमरिकाका एक पदाधिकारीले भने । अमेरिकाका नेपालीहरुको सबैभन्दा पुरानो संस्था एएनएमा प्रमुख अतिथीका रुपमा १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई आउनुभएको छ । राईलाई अतिथीका रुपमा बोलाउने सामान्य सदासयता पनि कांग्रेस वाहुल्यता रहेको एनआरएन अमेरिकाको नेतृत्वले देखाएन ।

साधारण सभामा अतिथि बनाउँदा सरकार र सत्तारुढ दलको आक्रामक विरोध गर्नेलाई छानिछानी बोलाइएको छ । हालैमात्र एनआरएन अमेरिकाको चुनावमा कांग्रेस समर्थित सुनिल साहको टीमले जितेको छ । निवर्तमान अध्यक्ष डा.केशव पौडेल नेपालमा छँदा नेबिसंघको राजनीति गरेका व्यक्ति हुन् । डा. पौडेलकै योजना अनुसार नेकपा र सरकारका प्रतिनिधिलाई पुरै बाइपास गरिएको छ ।

उद्घाटन मन्तव्यका क्रममा गच्छेदारले अफू पटक उपप्रधान मन्त्री भएको भन्दा बाहेक एनअरएनका सवालमा एक शव्द बोलेनन् । उनले अफ्नो प्रमुख अथित्यतालाइ पुष्टी गर्ने प्रयास गर्दै पटक पटक ५ पटक उपप्रमं भैसकेको उल्लेख गरिरहे । एनअरएनका बारेमा सुनेपनि धेरै कुरा थाहा नभएको भन्दै उनले पटक पटक जेल परेको कुरालाइ दोहोर्याएका थिए । उनको भाषण सुन्नेहरूले यस्ता मान्छेलाइ प्रमुख अतिथि बनाएर बेइज्जत गरेको टिप्पणी गरेका थिए ।

एनआरएन अमेरिकाको नेतृत्वमा प्रधानमन्त्री केपी ओलीलाई गाली गरेर सामाजीक सञ्जाल रंगाउने, विरोध गर्ने, नेकपालाई उँडाउनेहरुको वाहुल्यता छ । एनआरएन अमेरिकाका पदाधिकारीहरुले नेकपा निकट प्रवासी संगठन प्रवासी मञ्च विरुद्ध विषवमन गर्दै आएका छन् । एनआरएन अमेरिकाको तर्फबाट प्रतिनिधिमण्डलका रुपमा प्रधानमन्त्री, मन्त्रीहरुलाई भेट्न कुन मुखले नेपाल जान्छन् यो निकै प्रतिक्षाको विषय भएको छ ।