कपिलवस्तु, २ चैत । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले आफूहरूले एमालेसँग चुनावी सहकार्यको ढोका बन्द नगरेको बताउनुभएको छ । पुनले संघ, प्रदेश र स्थानीय तह निर्वाचनमा वर्तमान सत्ता गठबन्धनआवद्ध काँग्रेस, एकीकृत समाजवादी र संघीय समाजवादीसँग तालमेलमा जोड दिने तर, एमालेसँग पनि ढोका बन्द नराख्ने नीति आफूहरूको रहेको बताउनुभयो ।
‘सत्ता गठबन्धनका दलहरू बीचमै चुनावी तालमेल गर्नेमा हाम्रो जोड रहन्छ’, पार्टीको लुम्बिनी प्रदेश बैठकलाई बुधबार सम्बोधन गर्दै पुनले भन्नुभयो, ‘एमालेसँग पनि ढोका बन्द छैन ।’ यद्यपि माओवादी एक्लै निर्वाचन लड्न सक्षम रहेको उहाँको दावी छ । ‘चुनावी तालमेल र सहकार्यलाई अस्वीकार गर्दैनौं, तर आफ्नै बलमा चुनाव लड्न सक्षम छौं’, पुनले भन्नुभयो ।
उहाँले बहुमत स्थानीय तह जितेका कांग्रेस एमालेका जनप्रतिनिधि भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउनुभयो । तर, माओवादीले जितेका स्थानीय तहमा राम्रो र नमुना योग्य काम भएको उहाँको भनाइ छ । कार्यसम्पादनमा उत्कृष्ट पाँच पालिकामध्ये तीन पालिका माओवादीले जितेका भएबाट पनि माओवादीले स्थानीय तहमा राम्रो गरेको प्रमाणित हुने उहाँले बताउनुभयो ।
‘देशभर उत्कृष्ठ ठहरिएका पाँचमध्ये तीन हामीले जितेका पालिका भएका छन्, यसले पनि हाम्रो क्षमता दर्शाउँछ’, उहाँले भन्नुभयो । माओवादीले जितेका ११६ वटै पालिकामा अन्य दलले जितेकाभन्दा राम्रो काम भएको दाबी गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्