पोखरा, ६ चैत । गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले महिलालाई उद्यमशील बनाउन प्रदेश सरकारले सोही अनुरूपका कार्यक्रममा सञ्चालन गर्ने बताउनुभएको छ ।
पोखरामा आइडिटि (एकीकृत विकास तथा रुपान्तरण नेपाल) को आयोजना तथा अमेरिकी दूतावासको सहयोगमा महिला पर्यटन व्यवसायी (ओटेफ) का सदस्यका लागि आयोजित २१ दिने अङ्ग्रेजी भाषा तालिमको उद्घाटन कार्यक्रममा मन्त्री श्रेष्ठले प्रदेश सरकारले महिलाको क्षमता दक्षता र सीपको पहिचान गरी ‘सक्षम पाइला, उद्यमी महिला’ भन्ने कार्यक्रममार्फत प्रदेशका महिलालाई आर्थिक स्वालम्बन बनाउने कार्यक्रम तय गरेको बताउनुभयो ।
महिलाको सीप र दक्षतालाई चिन्न सके आर्थिक समृद्धि हासिल हुन सक्ने उल्लेख गर्दै मन्त्री श्रेष्ठले पोखरा पर्यटकीय सहर भएकाले विश्वमा धेरैले बोल्ने अङ्ग्रेजी भाषाको तालिमले यस क्षेत्रमा आउने पर्यटक लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।गण्डकी प्रदेशका सांसद राजीव पहारीले पर्यटन क्षेत्रमा प्रभावकारी संवादका लागि अङ्ग्रेजी भाषा तालिम आवश्यक रहेको बताउनुभयो ।
उहाँले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएपश्चात अन्तर्राष्ट्रिय देशसँग जोडिने भएकाले पनि पर्यटकसँग प्रभावकारी संवाद लागि अङ्ग्रेजी भाषाको महत्व रहेको बताउनुभयो । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रबन्धक नविन पोखरेलले प्रतिस्पर्धाको युगमा आफ्ना सेवा एवं उत्पादन बेच्नका लागि पनि प्रभाकारी भाषाको खाँचो रहेको औँल्याउनुभयो । अधिकांश पर्यटकले बोल्ने बुझ्ने अङ्ग्रेजी भाषालाई व्यवसायी महिलाले सिकेर दोहोरो संवाद गर्न सके पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
अमेरिकी राजदुतावासका क्षेत्रीय अङ्ग्रेजी भाषा अधिकृत डा नविला मेसोमीले नेपालको पर्यटन विकासका लागि अमेरिकी राजदूतावास निकै कटिबद्ध रहेको बताउनुभयो । उहाँले अङ्ग्रेजी भाषा तालिमले पोखराको पर्यटनलाई विकास गर्न सघाउ पुर्याउने बताउनुभयो । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई पर्यटन क्षेत्रमा इशाराले नभइ पर्यटक र पर्यटन व्यवसायीबीच प्रभावकारी सेवा प्रवाह र पर्यटकको सन्तुष्टिका लागि बुझिने भाषामा दोहोरो संवाद आवश्यक हुने बताउनुभयो ।
उहाँले अङ्ग्रेजी भाषा तालिमले दोहोरो संवादमा देखिने समस्या न्यूनीकरण हुँदा पर्यटकले पोखरा बसाइलाई सहज र स्मरणयोग्य बनाउन सक्ने बताउनुभयो । आइडिटिका प्रशासनिक अधिकृत सुदीप गौतमले यस तालिमबाट दीर्घकालीन विकास लक्ष्यलाई पनि सघाउन मद्दत पुग्ने बताउनुभयो । उहाँले पर्यटन क्षेत्रको कुल ग्राहस्थ उत्पादन २.३ प्रतिशतबाट १० प्रतिशत पुर्याउने, साथै यस क्षेत्रको रोजगारी एक लाखबाट बढाएर तीन लाख ८२ हजारसम्म पुर्याउने र पर्यटकको बसाइ १५ दिनसम्म लम्बाउन सक्ने लक्ष्य लिएको जानकारी दिनुभयो ।
कार्यक्रममा पोखरा १७ का वडाध्यक्ष जीवन आचार्य, कार्यक्रम संयोजक मधुकर पाण्डे, कार्यक्रम विशेषज्ञ विश्वराज गौतमलगायतले पर्यटन क्षेत्रमा अङ्ग्रेजी भाषाको महत्वको बारेमा आफ्नो धारणा राख्नुभएको थियो । ओटेफका अध्यक्ष पार्वती पाण्डेले विदेशी पर्यटकसँग दोहोरो संवादका लागि भाषामा धेरै हुने गरेको जनाउँदै यस्ता समस्यालाई न्यूनीकरण गर्न अङ्ग्रेजी भाषा तालिमले सघाउ पुर्याउने बताउनुभयो । उहाँका अनुसार तालिममा पर्यटनका विभिन्न पेशा व्यवसायमा आबद्ध २५ व्यवसायी महिला तालिममा सहभागी हुने जानकारी दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्