जनता टाइम्स

८ चैत्र २०७८, मंगलवार १८:२७

बुटवलमा कृषि मेलाको तयारी


बुटवल, ८ चैत । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा यही चैत १० गतेदेखि कृषि मेला हुने भएको छ । मेलाको तयारी पूरा भएको संघले जानकारी दिएको छ । संघ र लुम्बिनी प्रदेशको कृषि खाद्य, प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयको संयुक्त आयोजनामा चैत १० देखि १४ गतेसम्म बुटवलमा मेला हुन लागेको हो ।

‘बजारमुखी कृषिको आधार, समुन्नत नेपालको पूर्वाधार’ भन्ने नारासहित सञ्चालन गर्न लागिएको मेलाको बिहीबार लुम्बिनी प्रदेशका प्रदेशका प्रमुख अमिक शेरचनले उद्घाटन गर्ने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । संघले सञ्चालन गर्न लागेको यो दसौँ संस्करणको कृषि मेला हो । २०१० सालमा स्थापना भएको बुटवल उद्योग वाणिज्य संघले २०४१ सालमा काठमाडौं उपत्यका बाहिर पहिलो पटक बुटवलमा औद्योगिक व्यापार मेला गरेको थियो भने २०६२ सालदेखि विशिष्टीकृत कृषि मेलाको सुरुवात गरेको थियो ।

नेपालको कूल जनसंख्याको ६६ प्रतिशत कृषि पेसामा आश्रित भए पनि कूल ग्राहस्थ उत्पादनमा कृषिको योगदान ३६ प्रतिशत मात्रै रहेको बताउँदै पत्रकार सम्मेलनमा संघका अध्यक्ष तथा कृषि मेला कार्यसम्पादन समितिका संयोजक उज्ज्वलप्रसाद कसजूले कृषिमा व्यावसायिक विकास गरी कूल ग्राहस्थ उत्पादनमा कृषिको योगदान बढाउन विशिष्टीकृत कृषि मेला आयोजना गरिएको बताउनुभयो ।

रोजगारीमा समेत कृषि क्षेत्रको उल्लेखनीय योगदान भए पनि उत्पादन एवं उत्पादकत्व ज्यादै न्यून रहेको उहाँको भनाई छ ।पछिल्लो समयमा कृषिजन्य उत्पादनको आयातमा समेत अर्बौ रकम बाहिरिइरहेको छ । कृषि क्षेत्रमा रहेको सम्भावनाहरूलाई उजागर गर्न, थप लगानी भित्र्याउन तथा कृषिमा आधुनिकीकरण र प्रतिस्पर्धात्मक क्षमता बढाउनको लागि पनि कृषि मेला फलदायी हुने विश्वास गरिएको छ ।