जनता टाइम्स

२३ असार २०७६, सोमबार १४:२६

‘अन्तरराष्ट्रिय राजनीति र भूराजनीतिका आधारमा नेपालको परराष्ट्र सम्बन्ध’


काठमडौं, असार २३

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अन्तरराष्ट्रिय राजनीति र भूराजनीतिका आधारमा नेपालको परराष्ट्र सम्बन्ध रहने बताउनु भएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७६ अन्तर्गत परराष्ट्र मन्त्रालयको विभिन्न शीर्षकमा सांसदहरूले उठाउनुभएको प्रश्नको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले सरकारको एक्लो प्रयासबाट मात्र नभई सबैको सहयोगमा मुलुकको परराष्ट्र नीति र अन्तरराष्ट्रिय सम्बन्ध निर्भर रहने बताउनुभयो ।

पराष्ट्रमन्त्री ज्ञवालीले भन्नुभयो, “कूटनीतिकसम्बन्धी विषय संवेदनशील भएकाले यसमा सावधानी आवश्यक छ, आर्थिक कूटनीतिले महत्वपूर्ण स्थान पाउन थालेको छ, अन्तरराष्ट्रिय राजनीति र भूराजनीतिका आधारमा नेपालको परराष्ट्र सम्बन्ध निर्भर रहन्छ ।”

नेपालको विश्वका १६६ मुलुकसँग कूटनीति सम्बन्ध कायम रहेको जानकारी दिँदै उहाँले भन्नुभयो, “सबैसँग मित्रता, कसैसँग छैन शुत्रता भन्ने मान्यताका साथ पारम्परिकहित र लाभमा आधारित भएर कूटनीतिक सम्बन्ध विस्तार गरिएको छ, विश्वमा नेपालप्रति आकर्षण बढाउने नीति सरकारले लिएको छ ।”

नेपालको सीमाको सुरक्षाका लागि परराष्ट्र मन्त्रालयले अरु मन्त्रालयसँग मिलेर काम गरिरहेको छ, दुई देशबीच सीमा स्पष्ट पार्ने र सीमाका खम्बालाई व्यवस्थित गर्ने काम भइरहेको छ, खुला सीमाना नेपाल–भारतबीचको ऐतिहासिक विराशत हो, उहाँले भन्नुभयो ।