जनता टाइम्स

२३ असार २०७६, सोमबार १७:२३

विषादी परीक्षणमा उद्योगमन्त्री यादवको स्पष्टिकरण : सचिवले ल्याएको फाइल नपढी हस्ताक्षर गर्दा कमजोरी भयो


काठमाडौं, असार २३

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले सचिवले ल्याएको फाइल नपढी हस्ताक्षर गर्दा तरकारीको विषादीका विषयमा विवादमा फसेको बताउनु भएको छ । उहाले आफ्नै गल्तीले गर्दा यो अवस्था आएको भन्दै माफी समेत माग्नु भएको छ । भारतबाट आयात गरिने तरकारीमा विषादी जाँच गर्ने विषयमा सचिवलाई विश्वास गर्दा आफू समस्यामा परेको बताउनु भएको हो ।

मन्त्रालयमा आज पत्रकार सम्मेलन गर्दै उहाले भन्नुभयो, ‘मलाई यस्तो भुईंचालो आउँछ भन्ने थाहा थिएन। ठूलो हल्लीखल्ली भयो। तर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, कृषि मन्त्रालय र वाणिज्य मन्त्रालयका सचिवले हामीलाई वास्तविकता भनेनन्। गुमराहमा राखे। सबै कुरा आफैं गर्नपर्थ्यो। उनीहरुलाई विस्वास गर्नु नै मेरो गल्ती भयो ।’

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, कृषि तथा पशुपन्छी मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले विषादी चेकजाँच गरेर मात्र वस्तु भित्र्याउने भनेर लामो समय छलफल गरे पनि पूर्वाधार उपलब्ध नरहेको बारे आफूलाई कसैले जानकारी नगराएको उहाको भनाई थियो। ‘यस विषयमा ती निकायले लामै छलफल गरे। तर हामीसँग प्रयोगशाला छैन भनेर कसैले भनेनन्,’ यादवले भन्नुभयो ।