सिरहा, २५ चैत । सिरहाको एक पालिका अध्यक्ष र कर्मचारीको मिलेमतोमा लाखौं आन्तरिक राजश्वबाट उठेको रकम हिनामिना भएको पाइएको छ । विष्णुपुर गाउँ पालिकाका अध्यक्ष जागेश्वर यादव र नायव सुब्बा महेन्द्रप्रसाद यादवले आर्थिक वर्ष २०७७र७८ मा संकलन गरेको ३४ लाख २३ हजार ७ सय ९० रुपैयाँ हिनामिना गरेको खुलेको हो ।
करार सेवामा कार्यरत कर्मचारीलाई गाउँपालिका अध्यक्षले राजस्वको रकम कुम्ल्याउनकै लागि राजस्व शाखाको जिम्मेवारी दिइएको पाइएको छ । राजस्व शाखामा कार्यरत यादवले २०७७ साउन १ गते देखि २०७८ असार ३१ गतेसम्म एक वर्षको अवधिमा संकलन भएको ५५ लाख २७ हजार ७७ रुपैयाँमध्ये ३४ लाख २३ हजार ७ सय ९० रुपैयाँ अझै बैंक दाखिला नगरेको प्रमुख प्रशासकीय अधिकृत दीपकुमार यादवले जनाउनुभयो ।
उहाँले आफू भर्खरै यो जिम्मेवारीमा आएकोले धरै कुरा थाहा नभए पनि राजस्व रकम बैंक दाखिला नभएको पाइएपछि आफूले तुरुन्त आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ बमोजिम २५ प्रतिशत जरिवानासहित ४२ लाख ७९ हजार ३ सय ३७ रुपैयाँ दाखिला गर्न पत्र काटिसकेको बताउनुभयो ।

तत्काल रकम जम्मा गर्न निर्देशनसहितको पत्र काटेको उहाँले बताउनुभयो । हिनामिना गर्ने कर्मचारीको नाममा रकम बुझाउन पत्र काटेको १० दिन बितिसक्दा पनि अझै रकम जम्मा भएको छैन । उहाँले महालेखा परीक्षणको क्रममा यो कुरा जानकारी हुनासाथ आफूले उहाँलाई पटक–पटक ताकेता गरेको पनि जानकारी दिनुभयो ।
यता नासु महेन्द्रप्रसाद यादवले प्रशासनिक रूपमा आफू दोषी भएको स्वीकार गर्नुभएको छ । ‘प्रशासनिक हिसाबले मैले जिम्मेवारी लिनु पर्छ । तर, रकम आफूले गाउँपालिका अध्यक्ष अशेश्वर यादवलाई दिएको थिए । मैले त्यस्तो गर्नु गल्ती भयो,’ उहाँले भन्नुभयो । यता अध्यक्ष यादवले कर्मचारीले आफूलाई फसाउन खोजेको आरोप लगाउनुभएको छ ।
अध्यक्ष यादवले भन्नुभयो, ‘मैले कोही कर्मचारीसँग कुनै पैसा लिएको छैन । कर्मचारीहरूले मलाई फसाउन र बदनाम गर्न खोजेका छन् । म योभन्दा बढी अहिले केही भन्दिन । पत्रकारलाई बोलाएरै थप कुरा गर्ने छु,’ उहाँले थप्नुभयो ।
घटना सार्वजनिक भएलगत्तै पालिकाका एक वडा अध्यक्षले कोष तथा लेखा नियन्त्रण कार्यालय सिरहालाई जानकारी गराउनुभएको थियो । जानकारीपछि कोलेनिकाले पालिकाको खाता रोक्का गरे पनि अध्यक्ष आफै आएर तत्काल रकम जम्मा गर्ने प्रतिबद्धता जनाउँदै खाता खोल्न लगाएको एक कर्मचारीले जानकारी दिनुभयो । तर, अझै रकम जम्मा नभएको उहाँले सुनाउनुभयो ।














प्रतिक्रिया दिनुहोस्