जनता टाइम्स

२६ चैत्र २०७८, शनिबार ०९:४८

गभर्नरलाई निलम्बन गर्नु अपराध हो, अर्थमन्त्रीले राजीनामा दिनुपर्छ : पूर्वअर्थमन्त्री खतिवडा


काठमाडौं, चैत २६ । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल राष्ट्र बैंकका गभर्नरलाई कार्वाही होइन अर्थमन्त्री जनार्दन शर्माको राजीनामा आउनु पर्ने बटमलाइन सुनाउनु भएको छ । बिदेसबाट भित्र्याइएको कालो धन रोक्न गभर्नर महाप्रसाद अधिकारीले कदम चालेपछि अर्थमन्त्री शर्मा र प्रधानमन्त्री शेरबहादुर देउवाले निलम्बन गरेपछि पूर्वअर्थमन्त्री खतिवडाले यस्तो बताउनु भएको हो ।

बित्तिय अनुशासन कायम राख्न भूमिका खेलेर आफ्नो आदेश नमानेको भन्दै अर्थमन्त्री शर्माले गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय मन्त्रिपरिषद बैठकमा छलफलबिनै माइन्यूट गराउनु भएको थियो । अधिकारीलाई एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले २०७६ चैत २४ मा नियुक्त गरेको थियो । गभर्नर अधिकारीको कार्यकाल अझै तीन वर्ष बाँकी छ ।

अर्थमन्त्रीको ठाडो आदेशले निलम्बन गरिएको यो पहिलो घटना हो । राष्ट्र बैंकको स्वायत्ततामाथि अहिलेको सरकारले गम्भीर रूपमा हस्तक्षेप गरेको छ,’ पूर्वअर्थमन्त्री खतिवडाले भन्नुभयो, ‘अर्थमन्त्रीले आफ्नो कमजोरी लुकाउन गभर्नरलाई बलिको बोको बनाएका हुन् । अर्थतन्त्रको सम्पूर्ण जिम्मेवारी लिने दायित्व अर्थमन्त्रीको हो । अहिलेको अवस्थामा अर्थमन्त्रीले राजीनामा दिनुपर्छ ।’

गभर्नर अधिकारीले अर्थतन्त्र सुधार गर्न केही सकारात्मक कदम चालेको खतिवडाको भनाइ छ । ‘अघिल्लो सरकारको पालामा नियुक्त गरेको मान्छेले राम्रो काम गर्‍यो भनेर प्रतिशोध साध्नकै लागि अर्थमन्त्रीको ठाडो आदेशमा सरकारले निर्णय गरेको देखिन्छ,’ खतिवडाले भन्नुभयो, ‘गभर्नरमाथि अर्थमन्त्रीले सार्वजनिक रूपमा सूचना चुहाएको भन्दै गालीगलौज गरेका छन् । सार्वजनिक रूपमा गभर्नरलाई गाली गर्ने, छानबिन गर्ने, निलम्बन गर्ने कार्यले देशको आर्थिक स्थिति र वित्तीय प्रणालीलाई थप अस्थिर बनाउनेछ ।’

अहिलेको अर्थतन्त्रको अवस्थामा राष्ट्र बैंकको नेतृत्वलाई चलाउने कदमले व्यावसायिक जगत्, बैंकिङ प्रणालीमा सन्त्रासको वातावरण सिर्जना हुने खतिवडाको भनाइ छ । ‘यसले अर्थतन्त्रलाई थप संकटतर्फ धकेल्नेछ,’ खतिवडाले भन्नुभयो । खतिवडा अर्थमन्त्री हुँदा उहाँकै प्रस्तावमा अधिकारीलाई गभर्नरमा नियुक्त गरिएको थियो ।