जनकपुरधाम, २८ चैत । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकामा पनि चुनावी सरगर्मी बढेको छ । सत्तारूढ गठबन्धनका कांग्रेस, एकीकृत माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टीले अहिलेसम्म साझा वा अलग–अलग उम्मेदवार खडा नगरे पनि मेयरका आकांक्षीहरूले टिकटको लागि आ–आफ्ना दलमा लबिङ तीव्र बनाउनुभएको छ ।
यसैगरी, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सहितका दलहरूले पनि अहिलेसम्म जनकपुरधामको मेयरको लागि उम्मेदवार घोषणा गर्न सकेका छैनन् । यद्यपि, निर्माण व्यवसायमा संलग्न रमण कन्स्ट्रक्सनका सन्चालक बलराम महतोले भने स्वतन्त्र रूपमा मेयरको उम्मेदवारी घोषणा गर्नुभएको छ । आकांक्षीहरूले आ–आफ्ना पार्टीमा टिकटका लागि हानथाप गरिरहेका छन् ।
आबद्धता रहेकै पार्टीबाट टिकट नपाउने देखेपछि नेतृत्वको चाहनाले दल परिवर्तन गर्ने होड समेत सुरू भइसकेको छ । दलहरूले पनि आन्तरिक रूपमा वडाध्यक्षदेखि पालिका उपप्रमुख तथा प्रमुखलाई टिकट वितरणका लागि छलफल थालिसकेका छन् । मधेश प्रदेशमा एक महानगरपालिका र तीन उपमहागरपालिका छन् । २०७४ सालको स्थानीय निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकामा तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) ले मेयर र उपमेयर जितेको थियो ।
महन्थ ठाकुर नेतृत्वको राजपा र उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरमबीच एकता भएर जसपा बनेको थियो । पछि विभाजन हुँदा राजेन्द्र महतोको साथ छाडेर उपमहानगरपालिकाका मेयर लालकिशोर साह उपेन्द्र यादव नेतृत्वकै जसपा रोजे । उपमेयर रिताकुमारी झाले भने ठाकुर–महतो नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजिन् ।
जनकपुरधाम उपमहानगरपालिकामा मेयरको टिकटका लागि जसपा, लोसपा, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी लगायतका प्रमुख दलहरूका स्थानीयदेखि प्रदेश स्तरका नेताहरूले केन्द्रमा लबिङ गरिरहेका छन् । यी प्रमुख दलहरूबाट मेयरका लागि दजनौं आकांक्षी छन् ।
जनकपुरधाममा कांग्रेस, लोसपा र जसपा बलियो छ । हुन त अघिल्लो मत परिणाम अनुसार जसपा सबैभन्दा शक्तिशाली दल हो । तर, विभाजित भएपछि उसको शक्ति क्षीण भएको छ । यद्यपि, जनमतको हिसाबले दुबै दल प्रतिस्पर्धी हुन् ।
जसपाबाट मेयरमा तीन जना आकांक्षी
जनता समाजवादी पार्टीबाट जनकपुरको मेयरमा तीन जनाको नाम चर्चामा छ । वर्तमान मेयर लालकिशोर साह, नगर अध्यक्ष विष्णुदेव साह र युवा नेता बजरंग यादव । तर, सत्तारूढ गठबन्धनबाट मेयर टुंगो लागेको भने छैन । गत चुनावमा उपेन्द्र यादव नेतृत्वको फोरमबाट मेयरका प्रत्यासी र हालका जसपाका जनकपुरधाम नगरअध्यक्ष विष्णुदेव साह पनि आगामी स्थानीय निर्वाचनका लागि मेयरका आकांक्षी छन् ।
तर, मेयर लालकिशोरलाई पुनः सोही पदमा टिकट दिने आश्वासन दिएपछि जसपा रोजेको बताइन्छ । मेयर साहको उम्मेदवारी बलियो भएपछि विष्णुदेव मौन देखिएका छन् । तर, मेयरको उम्मेदवारको लागि आफ्नो दावी स्वभाविक रहेको उनको भनाइ छ । ‘म विगतमा पनि मेयर पदको उम्मेदवार थिए ।
मेयर लालकिशोर हाम्रो दलमै बसेपछि पार्टीको नगर अध्यक्षको हैसियतले उहाँलाई सहयोग गर्दै आएको छु । तर, अहिलेसम्म पार्टीले कसैलाई सिफारिस गरेको छैन । पार्टीले जसलाई सिफरिस गरे पनि स्वीकार्य छ ।’ जसपाबाटै मेयरका लागि बजरंग यादवको नाम चर्चामा छ । तर, अहिलेसम्म पार्टीले कसैलाई सिफारिस भने गर्न सकेको छैन ।
कांग्रेसबाट मनोज र बजरंग साहको चर्चा
कांग्रेसभित्र उम्मेदवारको अकांक्षी धेरै भए पनि बजरंग साह र जनकपुरधाम नगरसभापति मनोज साहको नाम निकै चर्चा छ । बजरंग जनकपुरधामका पुर्व मेयर हुन् भने मनोज अघिल्लो निर्वाचनमा मेयर लालकिशोरका निकटतम प्रतिद्वन्दी हुन् । हुनतः अहिलेसम्म जनकपुरधाम उपमहानगरमा कांग्रेसले एकपटक पनि चुनाव जित्न सकेका छैनन् । कांग्रेसकै नेताले स्वतन्त्र उम्मेदवारी दिएर दुईपटक मेयर जितेको इतिहास पनि छ । तत्कालिन समयमा बजरंग कांग्रेसमै आबद्ध थिए ।
तर, पार्टीले उनलाई टिकट नदिएपछि स्वतन्त्रबाट चुनाव जिते र पछि फेरि कांग्रेसमै फर्कानुभयो । यसैगरी, जनकपुरका तत्कालिन मेयर तथा अहिले तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष वृशेषचन्द्र लाल कांग्रेसमै आबद्ध थिए । तर, पार्टीले टिकट नदिएपछि उहाँले स्वतन्त्रबाट मेयरमा जित्नुभएको थियो । मनोजभन्दा बजरंग पार्टीमा सिनियर नेता भए पनि पार्टीभित्र मनोजको राम्रो पक्कड छ ।
कांग्रेस नेता बिमलेन्द्र निधीनिकट मनोज जिल्ला अधिवेशनमा सभापति योगेन्द्र पजियारतर्फ खुलेर लागेका थिए । टिकट वितरणमा निधीनिकट सभापति पजियारको दबदबा हुने भएकोले मनोजलाई टिकट पाउन गाह्रो छैन । यता पार्टीले आफूलाई टिकट नदिए स्वतन्त्र रूपमा भए पनि मेयरमा उम्मेदवारी दिने बजरंग साहको चाहना छ ।
कांग्रेस जनकपुर नगरका उपसभापति राकेशविक्रम साह, युवा नेता संजिव साह पनि मेयरका आकांक्षी देखिनुभएको छ । सत्तारूढ गठबन्धन दलहरूबीच टिकट बाँडफाँड नहुँदा पनि जनकपुर कुन पार्टीको भागमा पर्ने यकिन भएको छैन । स्रोतका अनुसार जनकपुरधाम जसपा नछोडने अडानमा छ भने कांग्रेसले अहिलेसम्म आधिकारिक निर्णय गरेको छैन ।
लोसपाबाट प्रदेश सांसदसहित चार जनाको चर्चामा
महन्थ ठाकुर–राजेन्द्र महतो नेतृत्वको लोसपाबाट जनकपुरको मेयर÷उपमेयरमा पाँच पाँच जनाको नाम सिफारिस भएको छ । जनकपुरधाम उपमहानगरपालिका नगर समितिको आइतवार बसेको बैठकले मेयर र उपमेयर दुवै पदका लागि पाँच पाँच जनाको नाम सिफारिस गरेको नगर अध्यक्ष मनोज चौधरीले जानकारी दिनुभयो । मेयरमा नगर अध्यक्ष चौधरीसहित प्रदेशसभा सदस्य परमेश्वर साह, वडाध्यक्ष जानकीराम साह, अमर पजियार र संजय चौधरीको नाम सिफारिस भएको छ ।
यस्तै उमपेयरका लागि विभा ठाकुर, विभा पाण्डे, रिता मिश्र, पुनम झा मैथिल र पुनम साहको नाम नगरबाट सिफारिस भएको उहाँले बताउनुभयो । नगरबाट सिफारिस आकांक्षीहरूमध्ये केन्द्रीय कमिटीले योग्य र जित्ने कुनै एकएक जनाको नाम टुंगो लगाउँनेछ र सो निर्णय सबै आकांक्षीका लागि सर्वमान्य हुनेछ ।
मेयरका पाँच जनामध्ये धनुषा निर्वाचन क्षेत्र नम्बर ३ ‘ख’ जनकपुर क्षेत्रबाटै तत्कालिन राजपाबाट निर्वाचन जितेका प्रदेशसभा सदस्य परमेश्वर साह सुडी, लोसपाको जनकपुरधाम नगरअध्यक्ष मनोज चौधरी र वडा ७ का वडाध्यक्ष जानकीराम साहको बढी चर्चा छ । तर, राजेन्द्र महतोको जनकपुरधाम प्रतिनिधि सभाको निर्वाचन क्षेत्र र आउने निर्वाचनमा पनि महतो यसै क्षेत्रबाट चुनाव लड्ने भएको हुँदा लोसपा पार्टीले जसरी पनि मेयर आफ्नो पार्टीको जिताउँने दाउमा छन् ।
लोसपाले अहिलेसम्म उम्मेदवार घोषणा गर्न सकेको छैन । स्रोतका अनुसार उनी नेकपा एमालेसँग गठबन्धन बनाउने रणनीतिमा देखिएको छ । एमालेलाई जनकपुरको छोडर मुखिया पट्टी मुसरनियाँ लिने मनसायमा पनि लोसपा रहेको एक नेताले बताए । यस्तो गरेको खण्डमा पार्टीभित्रको विवाद कम भई महतोलाई चुनावमा फाइदा हुने ती नेताको विश्लेषण छ ।
एमालेबाट जनकपुरको मेयरमा सात जना सिफारिस
जनकपुरधाम उपमहनगरपालिकामा खासै जनाधार नरहेको नेकपा एमालेबाट मेयरको लागि सात जनाको नाम सिफारिस भएको छ । केही समयअघि राजपा छोडर एमालेमा प्रवेश गरेका हिकम राइन, जनकपुर नगरका सभापति सुरेन्द्र भण्डारी, जनकपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष शिवशंकर साह हिरा, कामेश्वर महता, उमेश चौधरी सहित सात जनाको नाम जनकपुरको मेयरको लागि गरिएको पार्टीका एक नेताले बताए । तर, पार्टीको हाइकमाण्डबाट अहिलेसम्म कसै नाम स्वीकृत नभएको ती नेताले बताउनुभयो ।
माओवादी, समाजवादीलाई गठबन्धनको भर
जनकपुरधाममा माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलहरूमा हालसम्म कुनै पनि उम्मेदवारको चर्चा राजनीतिक वृत्तमा देखिँदैन । यद्यपि, यी दलभित्र गठबन्धन भएको खण्डमा उम्मेदवारी दिने पनि आकंक्षीहरू रहेको ती दलका नेताहरूको भनाइ छ ।













प्रतिक्रिया दिनुहोस्