जनता टाइम्स

३ बैशाख २०७९, शनिबार १४:०७

आर्थिक संकटबाट गुज्रिएको श्रीलंकामा पेट्रोल तथा डिजेल बिक्रीमा सीमा निर्धारण, लोडसेडिङ्ग अझै बढ्ने खतरा


कोलम्बो, ३ वैशाख । आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाले सवारी चालकहरूको लागि इन्धन आपूर्ति सीमित गरेको छ । सरकारको स्वामित्वमा रहेको सिलोन पेट्रोलियम कर्पोरेसन (सीपीसी) ले दुई पांग्रे सवारी साधन भएका व्यक्तिहरूलाई एक पटकमा बढीमा १ हजार श्रीलंकाली रुपैयाँ बराबरको पेट्रोल दिने भएको छ ।

जबकि तीन पांग्रे सवारी साधनले १५ सय श्रीलंकाली रुपैयाँ मूल्यको इन्धन (पेट्रोल वा डिजेल) र कार, भ्यान र जिपले ५ हजार रुपैयासम्मको पाउन सक्नेछन् । तर, बस, लरी र अन्य व्यावसायिक सवारी साधनमा भने यो सीमा लागू हुनेछैन । यसैबीच, सिलोनका धेरै पेट्रोल स्टेसनबाहिर इन्धन भर्नेहरुको लामो लाइन लागेको छ । धेरैले पेट्रोल लिन घण्टौँ कुरेर पनि खाली हात फर्किन बाध्य भएको गुनासो गर्नुभएको छ ।

त्यस्तै विद्युत कटौतीको समय अझै बढ्ने भएको छ । सरकारी अधिकारीहरुले विद्युत कटौतीसम्बन्धी नयाँ तालिका सार्वजनिक गर्दै आजदेखि विद्युत कटौतीको समय बढेको जानकारी दिएका हुन् । अबदेखि हरेक दिन बिहान ९ देखि बेलुका ६ बजेसम्म विजुली कटौती हुनेभएको छ । रातिको समयमा भने विजुली कटौती नगर्ने तालिका बनाइएको छ ।

यसअघिको तालिकाभन्दा दुई घण्टा बढी विजुली कटौती हुने भएको सरकारी अधिकारीहरूले हिजो जनाएका थिए । श्रीलङ्कामा आर्थिक सङ्कट उत्पन्न भएपछि विभिन्न बस्तु तथा सेवाको अभाव भएको छ भने मूल्य बृद्धि पनि अत्यधिक भएको छ । बस्तु तथा सेवाको अभाव र मूल्य बृद्धि भएपछि आम नागरिकले आन्दोलन गरेपछि राजनीतिक सङ्कट पनि उत्पन्न भएको छ ।

अभाव, मूल्य बृद्धि र आन्दोलन चर्किरहेका बेला तत्कालिन सबै मन्त्रीहरुले राजीनामा दिएपछि अहिले नयाँ मन्त्रीहरु नियुक्त गरेर सरकार सञ्चालन गरिएको छ । आर्थिक सङ्कटका कारण कतिपय अत्यावश्यक काम समेत रोकिएको अधिकारीहरुले जनाएका छन् । स्वास्थ्य मन्त्रालयले कतिपय औषधीहरुको समेत अभाव भएको जनाएको छ ।