जनता टाइम्स

६ बैशाख २०७९, मंगलवार १८:५५

पल प्रकरण : नाबालिगपछि बुवाले पनि फेरे बयान, भोलि नवलपुरमा बकपत्र हुने


तनहुँ, ६ वैशाख । नायक पल शाह बलात्कार प्रकाणमा नाबालिगपछि उनका बुवाले पनि बयान फेरेका छन् । आज जिल्ला अदालत तनहुँमा पीडित भनिएकी बालिकाका वुबाले बयान फेर्दै जर्बजस्ती करणी नभएको बताउनुभएको छ । उहाँले उजुरीमा बलात्कार भने पनि अदालतमा बयान दिने क्रममा बलात्कार नभएको बताउनुभएको हो । ‘बयान पूरै फेरिएको होइन । उजुरी मैले नै दिएको हो, हस्ताक्षर पनि मेरै हो भन्ने भो ।

करणीको व्यहोराको जाहेरी दिए पनि पल शाहले करणी गरेको रहेनछ भन्ने बयान दिनुभयो’, जिल्ला न्याधिवक्ता रामचन्द्र शर्माले बताउनुभयो । नाबालिग गायिकाले आइतबार बकपत्रमा जर्बजस्ती करणी नभएको बयान दिएकी थिइन् । ‘बालिकाले पनि सम्बन्ध हैन भनेर दिएकी छन् । अरु सबै स्विकार गरेकी छन् । शारीरिक सम्बन्ध भएको हैन भनेकी थिइन्’, उहाँले भन्नुभयो ।

शर्माका अनुसार अदालतमा ८ जनाको बकपत्र भएको छ । गायक दुर्गेश थापा, कमल थापालगायत केही पलका साथीहरुको बकपत्र गरेको तनहुँ अदालतले जनाएको छ । स्वास्थ्य परीक्षणमा संलग्न डाक्टर लगायत कम्तिमा अझै १० जनाको बत्रपत्र हुने जिल्ला न्यायधिवक्ता शर्माले जानकारी दिनुभयो । बकपत्रमा बयान फेरिए पनि मिसिलमा संग्लन प्रमाणले सत्य बोल्ने उहाँले बताउनुभयो ।

१९ गतेलाई जिल्ला अदालतले पेसी तोकिएको स्रेस्तेदार मिनबहादुर कुवँरले जानकारी दिनुभयो । सरकारी साक्षी र आउन बाँकी भएकाले झिकाउन आदेश हुने उहाँले बताउनुभयो । नेपाली सांगीतिक क्षेत्रमा उदयमान गायिकालाई सुटिङको क्रममा चिनजान भएपछि विवाह गर्ने भन्दै प्रेमको झुठो नाटक देखाएर पटक–पटक करणी गर्दै आएको भन्दै ११ फागुनमा नाबालिग गायिकाको वुबाले जिल्ला प्रहरी कार्यालय तनहुँमा पल विरुद्ध जाहेरी दिनुभएको थियो ।

अन्तिम पटक शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडास्थित प्रदिप थापाको घरमा राती १२ बजेतिर ति बालिकाको कोठामा प्रवेश गरेर शाहले ललाइफकाइ जबरजस्ती करणी गरेको उनका अभिभावकले दिएको उजुरीमा उल्लेख गरिएको थियो । उजुरी परेपछि शाहले १५ फागुनमा तनहुँ प्रहरी समक्ष आत्मासमर्पण गरेका थिए । जिल्ला अदालत तनहुँले शाहलाई १० चैतमा पुर्पक्षका लागि थुनामा पठाउने थुनछेक आदेश दिएको थियो ।

पल पुर्पक्षका लागि जिल्ला कारागार तनहुँमा थुनामा छन् । पीडित र उनका बुवाले बयान फेरेपछि मुद्दा कमजोर हुने आँकलन गरिएको छ । पल प्रकरणमा भोली जिल्ला अदालत नवलपुरमा पनि बकपत्र हुदैँछ । पललाई उपस्थित गराइदिन नवलपुर अदालतले पत्रचार गरेको जिल्ला कारागार तनहुँका निमित्त प्रमुख नारायण अधिकारीले जानकारी दिनुभयो ।

‘साक्षीहरु र स्वास्थ्य परिक्षण गर्ने चिकित्सकको बकपत्र हुने भएकाले उपस्थित गराउनू भनेर पत्राचार भएको छ’, उहाँले भन्नुभयो । पीडितका अभिभावकले नवलपुरमा पनि उजुरी दिनुभएको थियो । गैँडाकोटमा सुटिङको क्रममा मादक पदार्थ खुवाएर जर्बजस्ती करणी गरेको उजुरी परेपछि मुद्धा दर्ता भएको हो । २३ चैतमा जिल्ला अदालत नवलपुर थुनछेक आदेश जारी गर्दै पललाई थुनामा राख्ने आदेश दिएको थियो ।