जाजरकोट, बैशाख १४ । गठबन्धनबाट जाजरकोटको भेरी नगरपालिकाका प्रमुखका उम्मेदवार कमानबहादुर खडका सोही नगरपालिकाका ठेकेदार रहेको तथ्य खुलेको छ । नेकपा एकीकृत समाजवादीका नेता खडका गठबन्धनको तर्फबाट प्रमुखको उम्मेदवार बनेलगत्तै यो तथ्य बाहिर आएको हो ।
भेरी नगरपालिका २ निवासी खडकाले भेरी नगरपालिकासँगै ठेक्का संझौता गरी अघि बढाएकोमध्ये दुई वटा आयोजना अझै सम्पन्न भएको छैन । नगरपालिकामै प्रमुखको उम्मेदवार बनेका खडका सन्तोष निर्माण सेवाका प्रोपाइटर हुनुहुन्छ । सो कम्पनीले भेरी नगरपालिकासँग संझौता गरेकोमध्ये कुदु रंगशाला निर्माण र वडा नम्बर ४ को स्वास्थ्य चौकी भवन निर्माणको काम अझै सकेको छैन भने पेश्कीसमेत लिएको छ ।

निर्वाचन आचारसंहिताअनुसार स्थानीय ठेकेदार कुनै पनि पदमा उम्मेदवार बन्न पाउँदैनन । तर खडकाले बैशाख ९ गते छोराको नाममा कम्पनी सारेको भन्दै उम्मेदवारी दिएको छ । ‘ठेकेदार नै कसरी सोही पालिकाको प्रमुखको उम्मेदवार हुनसक्छ ? कमान खडका भेरी नगरपालिकासँग आर्थिक कारोवार गरेका ठकेदार हुन,’ स्थानीयवासीको भनाई छ ।


खडका ठेकेदार भएको प्रमाण र नगरपालिकसँग गरेको ठेक्का संझौतासहित खारेजीको लागि निर्वाचन आयोगमा उजुरी परेको छ । यता गठबन्धनले भने खडकाले निवेदन दिएको आधारमा कम्पनी छोराकै मानेर उम्मेदवारी कायम गर्नुपर्ने दवाव दिइरहेको पाइएको छ ।













प्रतिक्रिया दिनुहोस्