काठमाडौं, १४ बैशाख । आजबाट औद्योगिक ग्राहकका लागि लोडसेडिङ घोषणा हुने भएको छ । बिजुली माग पूर्ति गर्नका लागि आन्तरिक उत्पादनले नपुग्ने र भारतबाट समेत बिजुली किन्न नपाएपछि नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ तालिका सार्वजनिक गर्न लागेको हो । घरायसी र सामुदायिक ग्राहकका लागि भने बिजुली काटिने छैन ।
मागअनुसार बिजुली नभएसम्म हरेक दिन ठूला उद्योगहरुमा बिजुली कटौती गर्नेसम्बन्धी सूचना जारी गरिने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । ‘अहिले भारतबाट बिजुली पाउन छाड्यो । करिब १०र१५ दिन हामीलाई औद्योगिक ग्राहकको बिजुली काट्नुपर्ने हुनसक्छ,’ घिसिङले भन्नुभयो, ‘दिउँसो त बिजुली काट्दैनौं । पिक समय र रातको समयमा कुन उद्योगमा कति बिजुली काटिन्छ भन्ने पूर्व जानकारी दिन्छौं ।’
अब उद्योगहरूले हरेक दिन भोलिपल्ट कति समय बिजुली काटिन्छ भन्ने पूर्व जानकारी पाउने छन् । हरेक दिन बेलुका ६ बजेसम्ममा त्यस्तो जानकारी उपलब्ध गराइसक्ने प्राधिकरणले जनाएको छ । अहिले नेपालमा करिब ३ सय मेगावाट बिजुली अपुग रहेको प्राधिकरणले जनाएको छ । भारतको बिहार राज्य र इन्डियन इनर्जी एक्सचेन्ज (आईईएक्स) मार्केटबाट समेत बिजुली पाउन छाडेपछि औद्योगिक ग्राहकको बिजुली काट्न लागिएको हो ।
भारतमा उत्पादन हुने कुल बिजुलीमध्ये ७० प्रतिशत बराबर कोइला र थर्मल प्लान्टबाट हुने गरेको छ । रुस–युक्रेन युद्धका कारण अहिले भारतमा कोइला र प्राकृतिक ग्यासको अभाव छ । जसकारण नेपालले त्यहाँबाट बिजुली नै पाउन छाडेको हो । ‘बिहारले केही दिन अघिसम्म दिउँसोको समयमा बिजुली दिइरहेको थियो । तर अहिले उसले दिन सक्दिनँ भन्यो,’ कार्यकारी निर्देशक घिसिङले थप्नुभयो,‘आईईक्सबाट पनि सय मेगावाट भन्दा कम मात्रै बिजुली पाउने अवस्था आयो ।’
यसअघि नेपालले ढल्केबर–मुजफ्फरपुर प्रसारणलाइन हुँदै आउनेगरी आईईएक्स मार्केटमा करिब साढे ४ सय मेगावाट बिजुलीका लागि बोलकबोल गर्न पाइरहेको थियो । यसै हप्ता टनकपुर–महेन्द्रनगर प्रसारणबाट थप ५० मेगावाट बिजुली आयातका लागि नेपालले स्वीकृति पाएको छ ।
यसरी आईईएक्स मार्केटबाट कुल ५ सय मेगावाट बराबर बिजुली नेपालले किन्न पाउने भएपनि भारतमै बिजुली अभावका कारण १ सय मेगावाट बराबर पनि पाउन सकेको छैन । ‘बिड गरेको सबै बिजुली आईईएक्सले दिन सकेको छैन । दामासाहीका हिसाबले दिइरहेको छ,’ घिसिङले थप्नुभयो, ‘हामीले करिब ५ सय मेगावाट बिजुली किन्नका लागि बिड गरेपनि मुस्किलले १ सय मेगावाट पाइरहेका छौं ।’













प्रतिक्रिया दिनुहोस्