पोखरा, १८ वैशाख । अटेरी अभियानका अभियन्ता अशोक खड्का पक्राउ पर्नुभएको छ । अटेरी अभियानका उम्मेदवारलाई रोजेको चिन्ह दिनुपर्ने मागसहित प्रदर्शन गरेको आरोपमा उहाँलाई पक्राउ गरिएको हो । शनिबार खड्कासहितको टोलीले मुख्य निर्वाचन अधिकृतको कार्यालय अघि पुगेर आफूहरूलाई लौरो चिन्ह नदिएकोमा विरोध जनाएका थिए । प्रहरीले सोही आधारमा पक्राउ गरेको हो ।
पोखरामा सात जना मेयरका स्वतन्त्र उम्मेदवार छन् । निर्वाचन कानुन अनुसार उम्मेदवार संख्या र चिन्हको पहिलो संख्याबाटै रोज्नुपर्ने प्रावधान छ । तर, खड्का लगायत मेयरका उम्मेदवारहरूले आठौँ नम्बरमा रहेको लौरो चिन्ह पाउनुपर्ने बताउनुभएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले कानुन विपरीत चिन्ह दिन नमिल्ने बताएपछि उनीहरू आक्रोशित भएका हुन् ।
तर लामो गन्जागोलपछि निर्वाचन आयोगले नै पोखराको मतपत्र छाप्न बाँकी रहेकोले लौरो दिन सकिने बताएको थियो । त्यसपछि सहमति भएर फर्किएका टोलीका एक जनालाई प्रहरीले आइतबार पक्राउ गरेको हो । उहाँले निर्वाचनमा लौरो चिन्ह पाए पहिलो लौरो निर्वाचन अधिकृतलाई हान्नुपर्ने बताउनुभएको थियो ।
उहाँको भिडियो अहिले पनि फेसबुकमा छ । ‘स्वतन्त्र भनेर हेप्न मिल्छ ? टेक्निकल समस्या भनेर दलका नेताहरूलाई भन्न सक्दैनन्, स्वतन्त्रलाई मात्रै किन ? सूर्य र रुखमा निकाल्नुस् त समस्या,’ उहाँले भन्नुभयो,‘हामीले लौरो चिन्ह पायौं भने पहिलो लौरो निर्वाचन अधिकृतलाई हान्नुपर्छ ।’
डीएसपी सुन्दर तिवारीले खड्का पक्राउ परेको पुष्टि गर्नुभयो । ‘हिजोको अभिव्यक्तिले उहाँलाई पक्राउ गरेका हौं । उहाँले निर्वाचनमा आपत्तिजनक अभिव्यक्ति दिनुभएको छ । हुलहुज्जत गर्नुभएको छ,’ उहाँले थप्नुभयो, ‘निर्वाचनको शान्तिलाई खलल पुर्याएकोले पक्राउ गरेका हौं ।’ उहाँको पक्राउमा पोखराका अटेरी अभियान्ताहरूले विरोध जनाएका छन् ।












प्रतिक्रिया दिनुहोस्