जनता टाइम्स

२० बैशाख २०७९, मंगलवार ०९:३८

काँग्रेसका उम्मेद्वार बसन्त बस्नेतले भ्याट तिर्न बाँकी, उम्मेद्वारी खारेजीको माग गर्दै आयोगमा उजुरी


गाईघाट, बैशाख २० । निर्वाचन अधिकृतको कार्यालयले अन्तिम नामावली प्रकाशन गरिसकेको छ । उम्मेद्वारहरु आ आफ्नो पक्षमा जनमत सृजना गर्न घरदैलोमा छन । तर नेपाली काङ्ग्रेसको तर्फबाट मेयर पदको उम्मेदवार बनेका बसन्त बस्नेतलाई भने मतदान हुने ११ दिन अघि उम्मेद्वारी खारेजीको माग गर्दै उजुरी परेको छ ।

निर्वाचन कानुन र स्वघोषणा विपरित ठूलो परिणाममा भ्याट तिर्नु पर्ने भेटिएको भन्दै एमालेबाट मेयर पदका उम्मेदवार भागबत राउतले बस्नेतको उम्मेद्वारी खारेजको माग गर्नुभएको हो । निर्माण व्यवासायी समेत रहेका बस्नेतले एपेक्स इन्द्रेणी जे.भि को नामबाट कारोवार गर्दा मूल्य अभिवृद्धिकर भ्याट बक्यौता रहेकाले बस्नेतको उम्मेद्वारी खारेजी हुनुपर्ने माग गरिएको छ । सोमबार मुख्य निर्वाचन कार्यालय उदयपुरमा एमाले उम्मेद्वार राउतले उजुरी दर्ता गराउनु भएको छ ।

प्रोपाइटर बस्नेतले आन्तरिक राजस्व कार्यालय लहानमा कर चुक्ता गर्न बाकी रहेकाले निजको उम्मेदवारी खारेजी गर्न भन्दै उजुरी आएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । राउतको उजुरीमा भनिएको छ, ‘स्थानीय निर्वाचन ऐनको दफा १४ (२) बमोजिम गरि १४ (१) अनुसार उम्मेदवारी रद्द गरिपाउ ।’

बस्नेत नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका हुनुहुन्छ भने राउत नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका व्यक्ति हुनुहुन्छ । कांग्रेस उम्मेदवार बस्नेत स्थानीय ठेकेदार समेत हुनुहुन्छ । उहाँको कम्पनी एपेक्स इन्द्रेणी जेभी र उहाँको नाम किटान नै गरेर आन्तरिक राजश्व कार्यालय सिरहाले चैत २७ गते मूल्य अभिवृद्धि कर वक्यौता बाँकी रहेको सार्वजनिक सूचना निकालेको थियो । मूल्य अभिवृद्धि कर तिनै १५ दिनको समयसीमा दिँदै राजश्व कार्यालय सिरहाले बैंक कारोबार, घरजग्गा कारोबार लगायत रोक्का राख्ने चेतावनी समेत दिएको छ ।

एमाले उम्मेदवार राउतले आयोगमा उजुरी गरिएको भन्दै उम्मेदवारी खारेज गर्नुपर्ने माग गर्नुभयो । कर तिर्न बक्यौता रहेका ठेकेदारहरु उम्मेदवार बन्नै नपाउने स्पष्ट कानूनी व्यवस्था रहेको भन्दै उहाँले आयोग उम्मेदवारी खारेज गर्नेमा आफू ढुक्क रहेको बताउनु भयो । ‘जुवातामा पनि पक्राउ परेर दण्ड जरिवाना भोगेको मान्छे हुनुहुन्छ, राज्यलाई तिर्ने कर पनि तिर्नु भएको छैन’ उहाँले भन्नुभयो, ‘उहाँको उम्मेदवारी कायम रहन सक्ने कुनै आधार छैन ।’

मूख्य निर्वाचन अधिकृतको कार्यालय उदयपुरका प्रवक्ता देवराज भट्टराई सोमबार साझ उजुरी परेको दर्ता भएको पुष्टि गर्नुभयो । उजुरीका विषयमा छानविन हुन भने बाँकी रहेको उहाँको भनाई छ । ‘अब उजुरीका विषयमा के गर्ने भनेर श्रीमान (मूख्य निर्वाचन अधिकृत) ले निर्णय गर्नुहुनेछ’ प्रवक्ता भट्टराईले भन्नुभयो । स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा १४ बमोजिम उम्मेद्वारको विरुद्ध उजुरी परे मत परिणाम घोषणा गर्नु भन्दा अघिसम्म निर्वाचन अधिकृतले उम्मेद्वारी रद्द गर्न पाउने व्यवस्था छ ।