जनता टाइम्स

२० बैशाख २०७९, मंगलवार २१:१८

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाको खुलासा : नफर्किने गरी बैंकिङ प्रणालीबाट बाहिरिन्छ वार्षिक १० खर्ब


काठमाडौं, बैशाख २० । पूर्वअर्थमन्त्री तथा पूर्वगभर्नर डा. युवराज खतिवडाले कहिल्यै नफर्किने गरी बैंकिङ प्रणालीबाट वार्षिक १० खर्ब रुपैयाँ बाहिरिने गरेको तथ्य खुलासा गर्नुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वअर्थमन्त्री खतिवडाले यस्तो तथ्यांक राख्नुभएको हो ।

उहाँले ७ प्रतिशत माथिको आर्थिक वृद्धिले सधैं बाह्य क्षेत्र दबाब (मुलुकको भुक्तानी सन्तुलन अर्थात् आम्दानीको तुलनमा खर्च वृद्धि) तथ्य पनि राख्नुभयो । नेपाल चेम्बर अफ कमर्सको भातृ संस्था नेपाल युथ चेम्बरले काठमाडौंमा आज आयोजना गरेको अर्थतन्त्रमा हाल देखिएको चुनौती र त्यसको समाधान विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै खतिवडाले यस्तो तथ्य राख्नुभएको हो ।

उहाँले भन्नुभयो, नफर्किने गरी बैंकिङ प्रणालीबाट बाहिरिन्छ वार्षिक १० खर्ब । ‘यसअघिसम्म मुलुकमा सात प्रतिशत माथि आर्थिक वृद्धि हुने भयो भने बाह्य क्षेत्र दबाबमा पर्ने र विदेशी मुद्रा सञ्चितिमा ह्रास आउने गर्थ्यो,’ कार्यक्रममा बोल्दै डा. खतिवडाले भन्नुभयो, ‘हाम्रोमा निर्यातमूलक भन्दा पनि यही खपत हुने क्षेत्रको योगदान अर्थतन्त्रमा धेरै छ। त्यसैले यो क्षेत्र बढ्दा सजिलै आर्थिक वृद्धि त हुन्छ तर बाह्य क्षेत्र दबाब पनि बढ्दै जान्छ।’ तर अहिले सात प्रतिशत वृद्धि नपुग्दै पनि बाह्य क्षेत्रमा दबाब देखिन थालेको खतिवडाले बताउनु भयो ।

यहाँ उत्पादन हुने हरेक क्षेत्रमा आयातित वस्तुको हिस्सा उच्च रहेकोले आर्थिक वृद्धिदर बढिरहँदा बाह्य क्षेत्र दबाब पनि वृद्धि भइरहने खतिवडाले बताउनु भयो। उहाँका अनुसार जलविद्युत आयोजना निर्माण लगायतमा करिब ६० देखि ६५ प्रतिशत आवश्यक वस्तु आयातित प्रयोग हुन्छ। पछिल्लो समय सुधारिएको कृषि प्रणालीमा पनि आयातित वस्तुको प्रयोग बढिरहेको छ।

‘अहिले हाम्रा उद्योगहरूबाट एक सय २० रूपैयाँको वस्तु उत्पादन गर्दा त्यसलाई लाग्ने करिब एक सय रूपैयाँभन्दा बढीको सामान त आयात नै गरिएको हुन्छ, त्यसैले कम्तीमा २० प्रतिशत मूल्य अभिवृद्धि हुने (मूल्य बढ्ने) वस्तुको उत्पादनमा मात्रै जोड दिऊँ,’ खतिवडाको सझाव छ । हाल स्वदेशमै खपत हुने क्षेत्रमा मात्रै वृद्धि भइरहेकोले यसले आयातमा समेत वृद्धि गरेको र विदेशी मुद्रा सञ्चितिमा दबाब दिएकाले निर्यात हुने क्षेत्रको विस्तारमा जोड दिनुपर्ने उहाँको भनाई छ ।

पछिल्लो समय मुलुक सिमेन्ट, कुखुराको मासु उत्पादन लगायतमा आत्मनिर्भर भइरहेकाले कृषिका थप क्षेत्रहरूमा आत्मनिर्भर हुने बाटोमा जाँदा मुलुकको आयात घटाउन सकिने खतिवडाले बताउनु भयो ।

जग्गाको मूल्यमा भइरहेको अनावश्यक उच्च वृद्धि (बबल) ले गर्दा मानिसहरूमा उपभोग बढेको र आयातमा वृद्धि भइरहेको तथ्यांक खतिवडाले राख्नुभयो । ‘अहिले २० खर्बको जग्गाको कारोबार भइरहेको तथ्यांक आएका छन्, कम थैली देखाउने प्रवृत्तिले वास्तविक कारोबारको करिब करिब ५र७ खर्ब करको दायरामा आउँदैन। त्यस्तै व्यापारको क्रममा भन्सारमा गरिने न्यून विजकीकरणले करिब एक खर्ब दायरामा नआइरहेको पाइन्छ। ठेक्का लगायतमा पनि केही रकम दायरामा आउँदैन,’ पूर्वअर्थमन्त्री खतिवडाले भन्नुभयो ।

यसरी समग्रमा १० खर्ब रूपैयाँ बराबरको यस्तो रकम बैंकिङ प्रणालीमा नआउने र अनौपचारिक बाटोबाट विदेशतर्फ पुँजी पलायन हुने गरेको उहाँको भनाइ छ। यस्तो व्यवसायमा लागेकाहरूले सजिलै कमाइ (इजी मनी पाइरहेका) गरिरहेकाले पनि उपभोगमा खर्च बढिरहेको निश्कर्ष पनि खतिवडाले सुनाउनु भयो । गत आर्थिक वर्षभरिमा करिब १३ खर्ब ९८ अर्ब व्यापार घाटा हुँदा यस वर्ष ९ महिनामै १३ खर्ब ६ अर्बको यस्तो घाटा भएको छ।