जनता टाइम्स

२५ बैशाख २०७९, आईतवार १९:५३

निर्वाचन आचारसंहिता उल्लंघनको क्रम बढ्दो : कारबाही गर्नै डराउँछ आयोग


महोत्तरी, २५ वैशाख । बुधबार पत्रकारसँग महोत्तरीका प्रमुख निर्वाचन आयुक्त दीपक खरेलले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेहरूलाई निगरानी गरेर सहयोग गरिदिन अनुरोध गर्नुभयो । तर, जिल्लाका १५ वटै पालिकामा प्रचारप्रसार गर्नेहरूले टाँगेका बाक्लै ध्वजापताका तथा डिजे ब्यान्डसहितको समूहले सहर, गाउँमा अशान्त बनाउँदा पनि ध्यानाकर्षण नहुनुले निर्वाचन आयोगप्रति नै प्रश्न तेर्सिएको छ ।

उम्मेदवारहरूले खुलेआम भारतीय नम्बर प्लेटको गाडी प्रयोग गरेका छन् । आचारसंहिताको न्यूनतम पालनासमेत गरिएको देखिएको छैन । उम्मेदवारको प्रचारप्रसार गर्न जिल्लाका राजनीति दलका कार्यकर्ता तथा स्वतन्त्र उम्मेदवारका समर्थकहरू मुख्य चोकमा मात्र केन्द्रित भएका छैनन्, बालबालिका अध्ययन गर्ने शिक्षालयहरूलाई समेत केन्द्रित गरिएको भेटिन्छ ।

निर्वाचन आयोगले ब्यानर राख्नसमेत मापदण्ड बनाएको छ । तर, ब्यानरको न साइजमा ध्यान दिएको छ नत मापदण्डमा नै । खुलेआम सहर, टोल र वस्तिहरूमा पाटीका कार्यकर्ताले मापदण्डलाई किन खिल्ली उडाइरहेका छन् भन्ने विषय निर्वाचन आयोगका लागि नै पेचिलो बन्दै गएको छ । प्रमुख आयुक्त खरेलका अनुसार आचारसंहिता उल्लंघन गरिरहेका दलहरूमाथि निगरानी भइरहेको छ ।

‘हामीले झण्डा तथा प्रचार सामाग्री सुरक्षाकर्मी लगाएर हटाइसकेका छौं । फेरि दोहोर्याएमा कारबाही प्रक्रिया अगाडी बढाउँछौं,’ खरेलले भन्नुभयो । सुरक्षा संयन्त्र लगाएर प्रचार सामाग्री बजारका चोकबाट हटाए पनि राजनीति दलले पुरानो प्रचारप्रसार प्रक्रियालाई निरन्तरता दिइरहेका छन् । टोल–टोलमा ठूला–ठूला ब्यानरमा उम्मेदवारका तस्बिर टाँगिएको छ भने घरका भित्ता र सरकारी कार्यालयका गेटमा समेत तस्बिर टाँसिएको भेटिएको छ ।

कतिपय उम्मेदवारले त भारतीय नम्बर प्लेटको गाडीमा खुलेआम झण्डा र प्रचारप्रसार राखेर प्रयोग गरिएको पाइएको छ। निर्वाचन आयुक्त खरेलका अनुसार भारतीय नम्बर प्लेट प्रयोग भएको केही उजुरी आएको छ । ‘कतिपयलाई सचेत गराएका छौं । र, तुरुन्त त्यस्ता क्रियाकलाप रोक्न चेतावनी पनि दिएका छौ,’ उहाँले भन्नुभयो ।

निर्वाचन आचारसंहिता २०७९ मा राजनीतिक दल वा उम्मेदवारले निर्वाचन प्रचारप्रसारका लागि तीन सय वर्ग इन्चसम्मको आकार र ७५ ग्रामसम्मको कागजमा एउटै रङ्गको पर्चा, उम्मेदवारको कार्यालयमा ९ वर्ग फिटसम्मको झण्डा र सोही नामको चुनाव चिन्ह राख्न सक्ने स्पष्ट व्यवस्था गरेको छ ।

तर दलहरूले त्यसको बेवास्ता गर्दै निर्वाचन आयोगलाई खुल्ला चुनौती दिएका छन् । खर्च घटाउन तथा निर्वाचनलाई अनुशासित बनाउन आयोगले प्रयास गरे पनि त्यो विफल बनेको छ । निर्वाचन आयोगले २५ चैत्रबाट नै आचारसंहिता पालना गर्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारलाई आग्रह गरेको थियो ।

विहार प्रदेशको नम्बर प्लेट भएका गाडीहरू धमाधम महोत्तरी भित्रिएको जिल्ला राजस्व कार्यालय महोत्तरीले जनाएको छ । निर्वाचन आयोगले २५ चैतदेखि आचारसंहिता लागू गरेपछि पहिलेको तुलनामा बढी गाडी पास लिन आउने गरेको जलेश्वर भन्सार कार्यालयका अधिकृत डिल्लीराम सुवेदी बताउँनुहुन्छ ।

२५ चैतदेखि २२ वैशाखसम्म मात्र ८ हजार बाइक, गाडीले पास लिएको भन्सार कार्यालयको तथ्यांक छ । अहिले पनि दैनिक १० भन्दा बढी भारतीय नम्बर प्लेटका गाडी आउने गरेको उहाँको भनाइ छ । उनीहरूले एक दिन, तीन दिन र हप्ता दिनको पास बनाउने गरेको सुवेदीले बताउनुभयो । प्रचारप्रसारमा प्रतिस्पर्धासमेत बनेको छ । दलका कार्यकर्ताले कसैको झण्डा तथा प्रचार सामग्री देखिहालेमा एकै ठाउँमा थोपरेको भेटिन्छ ।

उता स्थानीयले भने आयोगप्रति आक्रोश व्यक्त गरेका छन् । आचारसंहिता बनाउने तर कारबाही गर्ने हिम्मत नगर्दा समस्या बढेको स्थानीयको भनाइ छ । ‘निर्वाचन आयोगले आचारसंहिता त बनाउँछ । तर, कारबाही नै हुँदैन । अनि आचारसंहिताको के अर्थ रह्यो र ?’ स्थानीय भास्कर दाहालले भन्नुभयो । यसका साथै महोत्तरीमा कर्मचारी नै भोट माग्न निस्किएको पाइएको छ ।

जिल्लाको मट्टीहानी नगरपालिकामा दलको झण्डा नै बोकेर दुई दर्जन राष्ट्रसेवक कर्मचारी भोट माग्न निस्किएको पाइएको हो । राष्ट्रसेवक कर्मचारीहरू झण्डा बोकेर भोट माग्न नपाउने आचारसंहितामा उल्लेख गरिएको छ । तर आचारसंहितालाई बेवास्ता गर्दै कर्मचारीहरू नै भोट माग्न निस्किएपछि सेवाग्राही मार्कामा परेका छन् । कर्मचारीहरूले लोसपाको झण्डा बोकेर उक्त पार्टीबाट उम्मेदवार वनेका हरि मण्डललाई भोट मागेको स्थानीयले बताएका छन् ।

भोट माग्दै गरेका कर्मचारीको सामाजिक सञ्जालमा तस्बिरसमेत सार्वजनिक भएको छ । तस्बिरमा वडा नम्बर ८ स्थित स्वास्थ्य शाखाका काम गर्ने दिनेश यादव, वडा सचिव विनोद यादव, कम्प्युटर अपरेटर विशाल कुमार साह, इलेक्ट्रीसियन अमानत रसुल, प्रदीप महरा, सहायक कम्प्युटर अपरेटर प्रदीप महरा, मनोहर कापर रहेका छन् ।

यस्तै वडा नम्बर ७ का वडा सचिव उमेश मण्डल, सन्तोष मण्डलका साथै विभिन्न वडामा काम गर्ने कर्मचारीहरू सन्तोष मण्डल, आशुतोष मण्डल, अजिम कवारी, दिनेश साह, रञ्जन मण्डल, कुन्दन कुमार मण्डल, बिक्की मण्डल, राकेश राणा, प्रमोद मण्डल, सुरेन्द्र यादव, गोविन्द मण्डल, सुमित सहनी, नरेश महतो, बिमलेश साहलगायत कर्मचारी चुनावी प्रचारमा गएका हुन् ।

लोसपाका उम्मेदवार हरि मण्डलले जागिर दिएको र यदि सहयोग नगरेमा जागिरबाट नै हटाइदिने धम्की दिएपछि आफूहरू बाध्य भएर प्रचारमा हिँडेको नाम नभन्ने सर्तमा एक कर्मचारीले भने । यस सन्दर्भमा महोत्तरीका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालसँग सोध्दा उहाँले यस्ता आचारसंहिता विपरीत काम गर्ने कर्मचारी तथा उम्मेदवारहरूलाई कस्तो कारबाही गर्ने भन्ने सबन्धमा निर्वाचन आयोगले नै निर्णय लिन सक्ने बताउनुभयो । यता प्रमुख जिल्ला आयुक्त खरेलले भने त्यस्ता कर्मचारी विरुद्ध कारबाही प्रक्रिया अगाडि बढाएको बताउँनुहुन्छ ।