जनता टाइम्स

१० जेष्ठ २०७९, मंगलवार १०:२०

वीरगञ्ज महानगरको मेयरमा जसपाका सिंह र उपमेयरमा कांग्रेसका आलम विजयी


पर्सा, जेठ १० । मधेस प्रदेशको एक मात्र महानगर वीरगन्ज महानगरपालिकामा ५ दलीय गठबन्धनका उम्मेदवार मेयर र उपमेयरमा विजयी हुनुभएको छ । आज बिहान सम्पन्न मतगणना अनुसार मेयरमा जनता समाजवादी पार्टीका राजेशमान सिंह र उपमेयरमा कांग्रेसका इम्तियाज आलम विजयी हुनुभएको हो ।

मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसार मेयरमा सिंहले ४६ हजार २ सय १५ मत ल्याएर बिजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका विजय सरावगीले २३ हजार ६ सय ७१ मत पाउनु भएको छ । निवर्तमान मेयरसमेत रहेका सरवागीलाई सिंहले २२ हजार ५ सय ४४ मतले पराजित गर्नुभएको हो । मेयरका अर्का उम्मेदवार राप्रपाका गिरिश गिरीले ३ हजार ३ सय १३ मत पाउनु भएको छ ।

उपमेयरमा विजयी भएका कांग्रेसका इम्तियाज आलमले ३० हजार ७८ मत ल्याउनुभएको छ भने निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का पुरुषोत्तमलाल झाले ९ हजार ५ सय ६८ मत पाउनु भयो । आलमले झालाई २० हजार ५ सय १० मतले पराजित गर्नुभएको हो ।