जनता टाइम्स

२९ असार २०७६, आईतवार १८:५९

देश विकासका लागि सबै जनतालाई खर्पनमा बोकेर हिड्न तयार छु : प्रधानमन्त्री ओली


काठमाडौं, असार २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकासका लागि अहिले उपयुक्त समय रहेको ठोकुवा गर्नुभएको छ । राष्ट्रिय युवा परिषदले आयोजना गरेको संघीय नमुना युवा संसदको बैठकमा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो धारणा राख्नुभएको हो ।

आफ्नो सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले विगतका शासकका कमजोरी र निजी स्वार्थले नेपालको विकास हुन नसकेको तथ्य पनि राख्नुभयो । ‘विगतका शासकहरुको अदुरदर्शीता र निजी स्वार्थका कारणले देशको विकास हुन सकेन, तर अब त्यो अवस्था छैन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अहिले आफ्नो लागि भन्दा देशको स्वार्थलाई माथि राख्नेहरु सरकारमा छन । त्यसकारण नेपालको विकास गर्न अव समस्या छैन ।’

प्रधानमन्त्री ओलीले देशमा अहिले काम गर्न सक्ने जनसंख्याको बाहुल्यता भएकोले पनि देश विकासका लागि अनुकुल समय भएको प्रष्ट पार्नुभयो । ‘हामीसँग यतिबेला युवा जनसंख्या ४० प्रतिशत र काम गर्न सक्ने जनसंख्या ६० प्रतिशत छ, जनसंखिक लाभको यो अवसरलाई हामीले सदुपयोग गरेर देश विकास गर्न सक्दछौं,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

२०४० सालतिर जेलमा छँदा आफूले खर्पन भन्ने कविता लेखेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले देश विकासका लागि आफू सबै जनतालाई खर्पनमा बोकेर हिड्न तयार भएको बताउनु भयो । ‘देशको विकासका लागि म युवालाई, बालबालिकालाई, ज्येष्ठ नागरिकलाई दुवैतिर खर्पनमा बोकेर हिड्न तयार छु,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । प्रधानमन्त्री ओलीले नमुना युवा सांसदले युवाहरुमा देश कसरी सञ्चालन गर्ने, विकास कसरी गर्ने त्यसका सैद्धान्तिक तरिकाहरु के कस्ता हुन्छन् भन्ने कुरा जानकारी दिने बताउनुभयो ।

‘उहिले हाम्रा पालामा सरकारले तँ राजनीति गर्ने, मन्त्री हुने भन्दै जेलमा लगेर कुट्थ्यो, अहिले सरकारले बोलाएरै तपाईंहरुलाई राजनीति गर्न सिकाइरहेको छ । यो सिकाइलाई समाज सुधारसाग तपाईंहरुले जोड्नुहुन्छ भन्ने अपेक्षा छ,’ प्रधानमन्त्री ओलीको भनाई थियो ।