जनता टाइम्स

१९ जेष्ठ २०७९, बिहीबार २०:०३

सरकारलाई पूर्वमन्त्री अर्यालको प्रश्न : बजेटको प्राथमिकतामा सिद्धार्थ र कर्णाली राजमार्ग किन परेन ?


काठमाडौं, जेठ १९ । नेकपा एमालेकी सचिव तथा सांसद पदमाकुमारी अर्यालले बजेटमा सिद्धार्थ राजमार्ग र कर्णाली राजमार्ग प्राथमिकता नपरेको भन्दै सरकारसँग कारण माग्नुभएको छ । आर्थिक वर्ष २०७९/०८० को प्रस्तावित बजेटमाथि आजको प्रतिनिधिसभा बैठकमा बोल्दै नेतृ अर्यालले जवाफ माग्नुभएको हो ।

गण्डकी र लुम्बिनी प्रदेशलाई जोड्ने सिद्धार्थ राजमार्ग र कर्णाली कोहरपुर राजमार्ग सरकारको प्राथमिकतामा पर्न नसकेको भन्दै पूर्वमन्त्री समेत रहनु भएकी एमाले सचिव अर्यालले ‘यस्तो महत्वपुर्ण राजमार्ग प्राथमिकतामा नपर्नुको कारण के हो ?’ भन्ने प्रश्न गर्नुभयो । ‘सिद्धार्थ राजमार्ग जसले पोखरा र लुम्बिनी जोड्छ । कर्णाली जोड्ने कोहलपुर राजमार्गलाई विगत सरकारले प्राथमिकतामा राखेको थियो । तर यो सरकारको प्राथमिकतामा नपर्नुको कारण के हो ? यसको जवाफ चाहियो,’ अर्यालले भन्नुभयो ।

सरकारले आगामी आवका लागि ल्याएको बजेटमा सिद्धार्थ राजमार्ग, कोहलपुर राजमार्ग नपरेको भन्दै ती आयोजना किन नअटेको भनेर उहाँले आपत्ति जनाउनु भयो । उक्त सडकको स्तरउन्नती गरेर २ घण्टा ३० मिनेटमा पोखराबाट बुटवल पुग्ने सकिने परिकल्पना गरेको स्मरण गर्दै नेतृ अर्यालले सिद्धार्थ राजमार्गका निम्ती आएको पैसा कता हालिएको छ भनेर प्रश्न गर्नुभएको थियो ।

‘घुम्तीहरूमा टनेल निर्माण गर्ने । मोडहरू कटिङ गर्ने मिलाउने । भूक्ष्य नियन्त्रणको निम्ती पर्खालहरू लगाउने । अहिले भइरहेको किलोमिटर घटाएर २ घण्टा ३० मिनेटमा पोखराबाट बुटवल पुग्न सकिनेगरि सिद्धार्थ राजमार्गको स्तरउन्नती गर्नेगरी विगत सरकारले परिकल्पना गरेको थियो’, अर्यालले भन्नुभयो, ‘डिपिआर पनि त्यही खालको तयारी गरेको छ । बजेटको सुनिश्चितताको निम्ती जापान बजेटरी सपोर्ट भनेर रातो बुकमा लेखेको छ । पैसा पनि आएको छ । अर्थमन्त्रालयले सम्झौता पनि गरिसकेको छ । तर त्यहाँ काम भएको छैन यो पैसा कहाँ गएको ? किन यसो गरिएको छ ? त्यहाँका निम्ती आएको पैसा त्यहाँ खर्च नगरेर अन्त गरियो यसको स्पष्ट जवाफ चाहियो ।’

उक्त आयोजनालाई अगाडि बढाउने गरी सरकारले सोच्नुपर्ने भन्दै अर्यालले तुरुन्त काम अगाडि बढाउन आग्रह गर्नुभयो । यस्तै आँधिखोला जलविद्युत परियोजनालाई अगाडि बढाउनेतर्फ सोच्न सरकारलाई आग्रह गर्दै उहाँले हालसम्म भएका सम्भाव्यता अध्ययनको अवस्थाका बारेमा समेत चासो राख्नुभएको छ ।

‘विगत ३ वटा आर्थिक वर्षदेखि आँधिखोला जलविद्युत परियोजनाको सम्भाव्यता अध्ययन डिजाइन सर्भे भनेर लगातार पैसा परिरहेको छ । आँधिखोलालाई दुहुनो गाइ नबनाइयोस,’ अर्यालले भन्नुभयो, ‘सालैपिच्छे पैसा हाल्याछ, सम्भाव्यता अध्ययन भनेको छ छोडेको छ । मान्छेहरू अलपत्र छन् । आफ्ना जग्गाहरू ठिक ढंगले सदुपयोग गर्न पाएको छैन । वस्ती निर्माणका निम्ती अन्यौलतामा जनता छन् । अहिलेसम्मको सम्भाव्यता अध्ययनको नतिजा के हो ? हुन्छ भने हुन्छ हुन्न भने हुन्न । किन जनतालाई अन्यौलमा राखेको ? त्यो कामलाई अगाडि बढाउनेगरी यो सरकारले सोचोस ।’

एमाले सचिव अर्यालले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट ‘गफै त हो नी सम्धी’ भनेजस्तो भएको बताउनु भयो । सरकारले आगामी आवका लागि बजेट विनियोजन गर्दा योजना नै नभएका क्षेत्रमा बजेट विनियोजन गरेको पनि उहाँले बताउनु भयो । बजेट पुर्वाग्रह पूर्ण भएको आजको अर्थतन्त्रको समस्यालाई बोध गर्न नसकेको टिप्पणी पनि उहाँको छ ।