जनता टाइम्स

३ श्रावण २०७६, शुक्रबार १५:५९

मध्यपहाडी लोकमार्गमा पर्ने खोटाङ–काठमाडौँ सडक नौ दिनपछि पुनःसञ्चालन


खोटाङ, साउन ३

बाढीपहिराले अवरुद्ध मध्यपहाडी लोकमार्गमा पर्ने खोटाङ–काठमाडौँ सडक नौ दिनपछि पुनःसञ्चालन भएको छ । लगातारको वर्षापछि विभिन्न ठाउँमा आएको बाढीपहिराले क्षति गरेपछि अवरुद्ध बनेको सडक मर्मत गरेर शुक्रबारदेखि पुनःसञ्चालन गरिएको हो ।

अविरल वर्षासँगै आएको बाढीपहिराले उक्त सडक खण्डको सयौँ स्थानमा अवरोध पुर्याएको थियो । नेपाली सेना, जनपद तथा सशस्त्र प्रहरी, स्थानीय सरकार तथा स्थानीयवासीले पहिरो हटाएपछि यातायात सञ्चालन गरिएको हो ।पहिरो हटेसँगै आज बिहानदेखि खोटाङ र काठमाडौँबाट यातायातका सवारी साधन सञ्चालन भएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङ्माङले बताउनुभयो ।

“जयरामघाट नजिकको डौँठेखोला र उदयपुरको घुर्मीको पहिरोलाई पूर्णरुपमा हटाउन सकिएको छैन”, उहाँले भन्नुभयो, “आजै बेलुकासम्म पूर्णरुपमा पहिरो हटाइसक्ने सडक मर्मतमा खटिएका व्यक्तिले बताएका छन् ।” आंशिकरुपमा सडक सञ्चालन भएसँगै दिक्तेलमा राजधानी काठमाडौँ तथा तराईका जिल्ला जाने र आउने यात्रुको चहलपहल शुरु भएको छ ।

अवरुद्ध सडक खुलेसँगै बीच सडक खण्डमा फसेर अलपत्र अवस्थामा बसेका यात्रु आज बिहानदेखि आआफ्नो गन्तव्यतर्फ लागेका छन् । पहिराका कारण सडक अवरुद्ध भएसँगै जिल्लामा यातायातका सवारी साधन सञ्चालन नहुँदा काठमाडौँ तथा तराईका जिल्ला आवतजावत गर्न समस्या बनेको थियो । सडक अवरुद्ध भएपछि खोटाङ–काठमाडौँ दैनिक दुईपटकसम्म हेलिकप्टर चार्टर गरेर उपचार तथा व्यक्तिगत काममा लागि जानुपर्ने बाध्यता थियो ।

सडक अवरुद्ध भएपछि आकस्मिक कार्यका लागि यात्रुले रु दुई लाखदेखि रु दुई लाख २० हजार तिरेर हेलिकप्टर चार्टर गर्न बाध्य बनेका थिए । सडक अवरुद्धका कारण भोलिदेखि जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सञ्चालन हुने लोकसेवा आयोगका परीक्षार्थीलाई सहभागी बन्न समस्या भएको थियो ।

हप्तादिनभन्दा बढी राजधानी काठमाडौँ तथा तराईसँगको सिधा यातायात अवरुद्ध हुँदा जिल्लामा दैनिक उपभोग्यवस्तु समेत अभाव शुरु भएको थियो । मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–हलेसी–जयरामघाट हुँदै काठमाडौँ जोड्ने सडक खुले पनि जिल्लाका अन्य सडक अझै अवरुद्ध छन् । अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेपनि कहिलेसम्म अवरुद्ध सडक खुल्ने भन्ने टुङ्गो छैन ।

जिल्लाका अधिकांश सडक स्काभेटर प्रयोग गरेर निर्माण गरिएकाले वर्षाद्को पानीले पहिरो गएको जनाइएको छ ।जिल्लाका सबै स्थानीय तहमा आर्थिक वर्षको अन्त्यमा सम्पन्न गर्ने लक्ष्यका साथ ग्रामीण सडक निर्माण गरिएको थियो ।लामो समयसम्मको खडेरीपछि परेको अविरल वर्षासँगै आएको बाढी तथा पहिराले जिल्लामा तीन जनाको ज्यान गएको छ भने अर्बौंको क्षति भएको छ ।