जनता टाइम्स

२५ श्रावण २०७९, बुधबार ०८:१८

अमेरिकाले युक्रेनलाई दियो ८९ मिलियन डलर सहयोग


न्युयोर्क (एजेन्सी) । अमेरिकाले युक्रेनलाई रुसी सेनाले राखेको बारुदी सुरुङ हटाउन ८९ मिलियन डलर उपलब्ध गराउने घोषणा गरेको छ । उक्त रकमले १०० वटा बारुदी सुरुङ हटाउने टोलीलाई सहयोग र थप युक्रेनी कर्मचारीहरूलाई तालिम र सुसज्जित गर्नेछ ।

युद्धका क्रममा युक्रेनमा विभिन्न क्षेत्रमा बारुदी सुरुङ बिच्छाइएका अनुमान गरिएका छन् । ‘रुसको गैरकानुनी र अप्रत्याशित थप आक्रमणले युक्रेनको ठूलो भूभागमा बारुदी सुरुङ, विस्फोट नगरिएका हतियारहरू र इम्प्रोभाइज्ड विस्फोटक उपकरणहरू भरिएको छ’, अ‍ेमेरिकी विदेश मन्त्रालयले विज्ञप्तिमा भनेको छ ।

‘यी विस्फोटक खतराहरूले उर्वर खेती भूमिमा पहुँच रोक्छ । पुनर्निर्माण प्रयासमा ढिलाइ गर्दछ । विस्थापित समुदायहरूलाई उनीहरूको घर फर्कनबाट रोक्छ र निर्दोष युक्रेनी नागरिकको ज्यान जोखिममा पार्छ,’ विज्ञप्तिमा भनिएको छ ।

रुसी सेनाले खाद्यान्न सुविधा, कार ट्रंक, धुने मेसिन, ढोका, अस्पतालको ओछ्यान र लडाइँमा मारिएका मानिसहरूका शव लुकाइएका स्थानमा माइन राखेको एक अमेरिकी अधिकारीले बताएका छन ।