जनता टाइम्स

२७ श्रावण २०७९, शुक्रबार ०५:३३

आन्दोलनरत शिक्षकका मागप्रति लचिलो नबन्न नगरप्रमुखलाई नेताहरूको सल्लाह


महोत्तरी, साउन २७ । बर्दिबास नगरपालिकामा करार बसेवाबाट पदमुक्त गरिएका शिक्षकहरूको आन्दोलन फितलो बन्दै गएको छ । स्थानीय सरकारले आन्दोलनरत शिक्षकहरूको मागप्रति लचिलो बन्न नसक्ने निष्कर्ष निकालेपछि शिक्षकहरू आन्दोलनबाट पछाडि हट्न थालेका छन् ।

पदवहालीको माग गर्दै नगरपालिकाको कार्यालय परिसरमा धर्नारत शिक्षकहरूलाई दिएको समर्थनबाट राजनैतिक दल समेत पछाडि हटेका छन् । बिहीवार नेकपा एमाले, माओवादी केन्द्र, काङ्ग्रेसले करार सेवामा कार्यरत शिक्षकहरूलाई हटाउने निर्णय हतास, अपरिपक्व र सामुदायिक शिक्षाको मर्मविपरीत भएको उल्लेख गर्दै ज्ञापनपत्र बुझाए पनि दलहरू भित्रैबाट फरक अभिव्यक्ति आएका छन् ।

नेकपा एमालेकी नेतृ सरिता ढुंगानाले स्थानीय सरकारले करारका शिक्षकहरू हटाइ नयाँ प्रक्रियामा जाने निर्णय स्वागतयोग्य भएको बताउनु भयो। उहाँले आन्दोलनरत शिक्षकहरू नयाँ प्रक्रियामा आउनु पर्ने र सर्वदलीय भनिएको निर्णय नेकपा एमालेको आधिकारिक नभएको पनि बताउनुभयो ।

जिल्लामा माहाधिवेशन नभएसम्म नगर कमिटी समेत नरहेको बताउँदै नेतृ ढुंगानाले कसैले हस्ताक्षर गर्दैमा आधिकारिक नहुने बताउनुभयो । सरिता ढुंगानाको तर्कमा अर्का नेता सन्त परियारले समेत समर्थन जनाउनु भएको छ । केन्द्रीय सल्लाहकार समेत रहेकी नेतृ ढुंगानाको भनाई नै आधिकारिक भएको उहाँको भनाइ छ ।

बिहीवार नै धर्नारत शिक्षकहरूको सबन्धमा नगरप्रमुख प्रह्लाद क्षेत्रीले केही राजनैतिक दलका नेताहरूलाई बोलाएर छलफल गर्नुभएको थियो । छलफलमा लोसपाका नेता चेत कुमार थापा, नेकपा एमालेकी नेतृ सरिता ढुंगानाले स्थानीय सरकार आन्दोलनरत शिक्षकहरूको सबन्धमा लचिलो बन्नुको सट्टा नयाँ भर्ना प्रक्रियामा नै जानुपर्ने सुझाव दिनुभएको छ ।

सर्वदलीय भनिएको निर्णयको सबन्धमा समेत नेताहरूले प्रश्न उठाएका छन् । दुई वटा वा तीनवटा हस्ताक्षर बटुलेर सर्वदलीय परिभाषालाई गलत अर्थ लगाएको उनीहरूको भनाइ छ ।