जनता टाइम्स

९ श्रावण २०७६, बिहीबार १३:०९

तस्करीको १६ किलो सुन ओढारमा लुकाएर आफै लुटिएको उजुरी दिएपछि…


काठमाडौं, साउन ९ । अन्तराष्ट्रिय बिमानस्थलसहित प्रमुख नाकाहरुमा कडाई हुन थालेपछि सुन तस्करीको रुट फेरिएको पाइएको छ । गोरखाको धार्चेस्थित ओडारमा लुकाई राखेको १६ किलो सुन बरामद भएपछि यो तथ्य खुलेको हो ।

गण्डकी प्रहरी प्रमुख डीआइजी विनोद शर्मा घिमिरेका अनुसार धार्चेस्थित ओडारमा लुकाई राखेको अवस्थामा सुन बरामद गर्नुका साथै गोरखाका धनकुमार गुरुङलाई पक्राउ गरिएको छ । पक्राउ गरेका गुरुङ खच्चर व्यवसायी भएको प्रहरीको भनाई छ । उनले यसअघि आफू नै लुटिएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । प्रहरीले छ टोली बनाएर खोजविन र अनुसन्धान गर्दा चीनबाट तस्करी गरी ल्याइएको सुन ओडारमा लुकाएको पाइएको हो ।

पछिल्लो समय अनुसन्धान गर्दै जाँदा उनले नै लुकाएर राखेको १६ किलो सुन ओडारमा फेला पार्न प्रहरी सफल भएको हो । यो सुन कसको थियो ? कहाँबाट त्यहाँ पुर्याएको थियो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । स्रोतले भने चीनबाट तस्करी गरी ल्याइएको बताएको छ ।