सुर्खेत, ६ भदौ । कर्णाली प्रदेशको पहिलो कार्यकाल पूरा नहुँदै मन्त्री बन्नेको संख्या दुई दर्जन नजिक पुगेको छ । हालसम्म प्रदेश सरकारमा दुईजना मुख्यमन्त्रीसहित २० जना मन्त्री बन्नुभएको छ ।
सबैभन्दा धेरै मन्त्री माओवादी केन्द्रबाट बन्नुभएको छ । माओवादीबाट एकजना मुख्यमन्त्रीसहित सातजना मन्त्री बन्नुभएको छ ।
माओवादी संसदीय दलका नेता महेन्द्रबहादुर शाही प्रदेशको पहिलो मुख्यमन्त्री हुनुहुन्छ भने उहाँको दलबाट हालसम्म विमला केसी, सीताकुमारी नेपाली, नरेश भण्डारी, गोपाल शर्मा, छिरिङ डम्डुल लामा, विन्दमान विष्ट र गणेशप्रसाद सिंह मन्त्री भइसक्नु भएको छ ।
माओवादीले गैरसांसदलाई समेत मन्त्री बनाएको छ । उसले प्रदेशसभा सदस्य नरहेका छिरिङ डम्डुल लामालाई मन्त्री बनाएको हो । उनको ६ महिने कार्यकाल सकिएको छ ।
मन्त्री बनाउनेमा एकीकृत समाजवादी दोस्रो नम्बरमा छ । एकीकृत समाजवादीबाट ६ जना मन्त्री बन्नुभएको छ । एमालेमा छँदै प्रकाश ज्वाला र नन्दसिंह बुढा मन्त्री बन्नुभएको थियो । त्यसपछि फ्लोर क्रस गरेर बुढासहित कुर्मराज शाही र अम्मरबहादुर थापा मन्त्री बन्नुभएको थियो भने एमालेबाट टुक्रिएर एकीकृत समाजवादी बनिसकेपछि चन्द्रबहादुर शाही र पदम रोकायले पनि मन्त्री बन्ने अवसर पाइसक्नु भएको छ ।
कांग्रेसबाट मुख्यमन्त्री जीवनबहादुर शाहीसहित दिनबन्धु श्रेष्ठ, यज्ञबहादुर बुढाक्षेत्री र हिमबहादुर शाही मन्त्री बन्नुभएको छ । सामाजिक विकासमन्त्री बुढाक्षेत्री दोस्रो पटक मन्त्री बन्नु भएको हो ।
एमालेबाट दल रावल र खड्कबहादुर खत्री मन्त्री बन्नुभएको छ । उहाँहरु एमाले र माओवादीको संयुक्त सरकार हुँदा मन्त्री बन्नुभएको थियो । कर्णाली प्रदेशको दोस्रो कार्यकालका लागि आगामी ४ मंसिरमा निर्वाचन हुँदैछ ।













प्रतिक्रिया दिनुहोस्