जनता टाइम्स

१६ आश्विन २०७९, आईतवार १२:११

ठाडा दहमा डुवेर एक व्यक्तिको गयो ज्यान


अर्घाखाँची, १६ असोज । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा रहेको डमरु दहमा डुवेर एक व्यक्तिको ज्यान गएको छ । दहमा डुवेका शितगंगा ३ दह निवासी ३७ वर्षिय खिम बहादुर नेपालीको घटनास्थलमै ज्यान गएको हो । विहान करिव ८ बजेतिर दहमा पसेका नेपालीलाई ईलाका प्रहरी कार्यालय ठाडाको प्रहरी टोली र स्थानियले पानी मुनि हिलोमा गडेको अवस्थामा उद्धार गरेका थिए ।

उद्धार गर्नासाथ नेपालीलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा पुर्याईएको थियो । प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नभएका कारण मृत घोषणाको लागि भएपनि अन्यत्र पठाउने तयारी गरिएको छ ।

पानी मुनीबाट उद्धार गरिएका नेपालीको घटनास्थलमै ज्यान गएको ईलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक होमनाथ रेग्मीले बताउनुभयो । ‘यहाँ चिकित्सक हुनुहुन्न, चिकित्सकले घोषणा नगरेसम्म मृत भन्न मिल्दैन’ रेग्मीले भन्नुभयो,‘तर उहाँ जिवित भने हुनुहुन्न ।’ नेपालीको परिवारमा आमा, श्रीमती र दुई छोरी छन् । श्रीमती भने रोजगारीको क्रममा भारतमा छिन् ।