जनता टाइम्स

२१ आश्विन २०७९, शुक्रबार १९:०५

यी हुन् अर्घाखाँचीमा एमालेका प्रत्यक्ष उम्मेदवार


रुपन्देही, २१ असोज । नेकपा एमालेले अर्घाखाँचीमा एमाले सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी प्रतिनिधिसभाको उम्मेदवार बनाएको छ । उहाँको जिल्लाबाट एकल नाम सिफारिस भएसँगै उहाँको टिकट टुंगिएको हो । उहाँले अर्घाखाँचीबाट लगातार ३ पटक निर्वाचन जित हात पार्नुभएको छ । स्थानीय तहको निर्वाचनमा ५ दलको वडा तहसम्म भएको गठबन्धनलाई तोडेर बहुमत पालिका जिताएपछि पार्टीभित्र उहाँको प्रशंसा बढेको थियो ।

त्यसैगरी, प्रदेशका दुवै क्षेत्रमा यसअघिकै सांसद दोहोरिएर उम्मेदवार बन्नुभएको छ । प्रदेश ‘क’ बाट नेता चेतनारायण आचार्य तथा ‘ख’ बाट नेता रामजी घिमिरे एकल उम्मेदवार सिफारिस हुनुभएको थियो । स्थानीय तहको वडागत मत परिणाममा एमाले ४८ हजार २६०, कांग्रेस ३७ हजार ९२५ माओवादी ७ हजार ७९०, राजमो ४ हजार २९४, एस ३ हजार ७६३ मतभार रहेको छ ।

गठबन्धनबाट संघमा नेपाली कांग्रेसको भागमा परेको यो क्षेत्रमा उपसभामुख पुष्पा भुसालले पाउने संभावना बढी छ । उहाँसहित ६ जना उम्मेदवार सिफारिस भएका छन् । दुई प्रदेशका क्षेत्रमा भने जनमोर्चा, माओवादी र कांग्रेसको बलियो दाबी भएकाले गठबन्धनको भने अझै टुंगो लागेको छैन ।