जनता टाइम्स

२४ आश्विन २०७९, सोमबार १७:२०

घिमिरे भए रुपन्देही ५ मा एमालेको आधिकारिक उम्मेदवार


भैरहवा, २४ असोज । एउटै निर्वाचन क्षेत्रमा दुईजनालाई एमालेले सिफारिस दिएपछि अन्योल बनेको रुपन्देही-५ मा बासुदेव घिमिरेले आधिकारिकता पाएका छन् । प्रतिनिधिसभा सदस्यका लागि आइतबार भएको मनोनयन दर्तामा एमालेबाट क्षेत्र नम्बर ५ को प्रतिनिधिसभाका लागि घिमिरे र खिमलाल भट्टराईले सिफारिस पाउनुभएको थियो । शनिबारसम्म सो क्षेत्रमा कसले चुनाव लड्ने भन्ने निधो नभएपछि भट्टराईलाई समेत सिफारिस दिइएको थियो ।

एउटै पार्टीका दुईजनाको उम्मेदवारी दर्ता भएपछि पहिला दर्ता गराउनेले आधिकारिता पाउने निर्वाचन निर्देशिका २०७९ मा उल्लेख भएबमोजिम घिमिरेलाई आधिकारिकता दिएको निर्वाचन अधिकृत चिन्तामणि शर्माले जानकारी दिनुभयो । घिमिरेले दिउँसो साढे ३ बजे र भट्टराईले पौने ५ बजे उम्मेदवारी दर्ता गराएका थिए ।

निर्देशिकामा प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका २०७९ को दफा १९ को (९) बमोजिम दलले उम्मेदवारलाई औपचारिक पत्र प्रदान गर्दा एउटै पदमा एकभन्दा बढी व्यक्तिका लागि औपचारिक पत्र प्रदान गरेको आधारमा एकभन्दा बढी उम्मेदवारको मनोयनपत्र पेस भएमा पहिले मनोनयनपत्र दर्ता गर्ने व्यक्तिको मनोनयनपत्र कायम हुने उल्लेख छ ।

निर्वाचन अधिकृत शर्माले निर्वाचन ऐन तथा निर्देशिकाअनुसार पहिलो पटक दर्ता भएका घिमिरेलाई आधिकारिता प्रदान गरिएको बताउनुभयो । घिमिरे तिलोत्तमा नगरपालिकाका पूर्वमेयर हुनुहुन्छ । भट्टराई राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएर मनोनयन दर्ता गर्न जानुभएको थियो ।