जनता टाइम्स

२९ आश्विन २०७९, शनिबार ०९:०९

माओवादी प्रचण्डको प्राइभेट कम्पनी बनेको हरिबोलको निश्कर्ष, यति कडा आरोपसहित बुझाए असहमति पत्र


काठमाडौं, असोज २९ । नेपाली कांग्रेसको सहयोगीका रुपमा चुनाव लडेको नेकपा माओवादी केन्द्रभित्र चुनावको मुखैमा चर्काे असन्तुष्टि देखिएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हुकुमी शासन बढेको भन्दै नेताहरु नै प्रतिवादमा उत्रन थालेपछि माओवादीभित्रको बिवाद छताछुल्ल हुन थालेको हो । यही क्रममा प्रतिनिधिसभा उम्मेदवार बन्नबाट बञ्चित गरिएको भन्दै नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले असहमति पत्र दर्ता गराउनु भएको छ ।

माओवादी स्रोतका अनुसार गजुरेलले आफ्ना सहयोगीमार्फत पार्टी कार्यालय पेरिसडाँडा र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा शुक्रबार असहमति पत्र पठाउनु भएको हो । पत्रमा गजुरेलले अध्यक्ष प्रचण्डमा कम्युनिष्टमा हुनुपर्ने कुनैपनि गुण बाँकी नरहेको तथ्यहरुले देखाएको भन्दै सोबिषय र आफूलाई टिकट नदिनुको कारणबारे पदाधिकारीबीच छलफल गर्नुपर्ने माग गर्नुभएको छ ।

दुई पटक सिन्धुलीबाट चुनाव जितेका गजुरेल यसपटक पनि सिन्धुली–२ बाट चुनाव लड्न चाहेपनि प्रचण्डले कुनै जानकारी नदिइ अन्तिम समयमा खोस्नुभएको थियो । माओवादी केन्द्रले सो क्षेत्रमा जिल्ला इन्चार्ज लेखनाथ दाहाललाई टिकट दिएको छ ।

निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश कमिटीले आफ्नो नाम सिफारिस गरे पनि टिकट नदिएको भन्दै गजुरेल असन्तुष्ट हुनुहुन्छ । आफ्नो असहमति पत्रमा गजुरेलले प्रचण्ड परिवारको प्राइभेट कम्पनी बनेको माओवादीलाई किन मत हाल्ने भन्ने गम्भीर प्रश्नसमेत उठाउनु भएको छ ।

‘घटनाक्रमले माओवादी पार्टी होइन, एउटा परिवारको प्राइभेट कम्पनीमा रुपान्तरण भयो, यस्तो पार्टीलाई जनताले किन मत हाल्ने भन्ने गम्भीर प्रश्न खडा भएको छ,’ गजुरेलको असहमति पत्रमा उल्लेख भएको बिषय उधृत गर्दै स्रोतले जनताटाइम्स डटकमसँग भन्यो । स्रोतका अनुसार गजुरेलले प्रचण्डबाट भइरहेको गतिबिधि र काम मुलुक र कम्युनिष्ट आन्दोलनबिरोधी रहेको किटानीसमेत गरिएको छ ।