जनता टाइम्स

१ कार्तिक २०७९, मंगलवार १८:३१

पूर्वगृहमन्त्री थापाको गृहमन्त्री खाणलाई व्यङग्य : तक्मा बाँडेर भोट माग्दैनौ


भैरहवा, १ कात्तिक । पूर्व गृहमन्त्री निरञ्जन थापाले भोटका लागि तक्मा नबाँड्ने बताउनुभएको छ । रुपन्देहीको क्षेत्र नम्बर ३ भैरहवामा मंगलबार क्षेत्रीय संयुक्त चुनाव प्रचारप्रसार कार्यालयको उद्घाटन गर्दै उहाँले आफूहरू सरकारमा गएपछि अहिलेको सरकारले जस्तो तक्मा बाँडेर भोट नमाग्ने बताउनुभयो । ‘भोटका लागि तक्मा बाँडिएन बरू योग्दानको मूल्यांकन गरी तक्मा बाँडेका थियौ,’ उहाँले भन्नुभयो, ‘भोटकै लागि तक्मा अहिले बाँडिएको छ ।’

रुपन्देहीमा मात्रै पाँच दर्जन बढी तक्मा बाँडिएको उहाँले आरोप लगाउनुभयो । रुपन्देही ३ मा तक्माको बाढी आएको उहाँले बताउनुभयो । ‘म पनि गृहमन्त्री थिएँ कुनैबेला, तर यसरी तक्मा बाँडेका थिएनौं । सरकारमा गएपछि उद्योग सञ्चालन गर्ने उद्योगी, चोरी निकासी नियन्त्रण गर्ने प्रहरीलाई तक्मा दिन्छौं ।

पार्टीलाई भोट दिने सर्तमा बाँड्दैनौं,’ उहाँले भन्नुभयो । क्षेत्रको विकासमा लागेका राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहरालाई नै यस क्षेत्रबाट उम्मेदवार बनाएको र तक्माको लोभमा यहाँका जनताले भोट खेर नफाल्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘विकासप्रेमी नेता बोहरालाई निर्वाचन जिताउनुपर्छ । पाँचदलीय गठबन्धनलाई भोट दिनु भनेको भोट खेर फाल्नु हो ।’

राष्ट्रियता बचाउन एमाले, राप्रपा र जसपालाई जिताउनुपर्ने उहाँको भनाइ थियो । एमाले, राप्रपा र जसपाको रुपन्देही ३ को आज भैरहवामा संयुक्त चुनाव प्रचारप्रसार कार्यालयको उद्घाटन गरिएको हो । यस क्षेत्रबाट प्रतिद्वन्द्वीको रूपमा गठबन्धनबाट नेपाली कांग्रेसले बालकृष्ण खाणलाई उठाएको छ ।