काठमाडौं, १३ कात्तिक । काठमाडौं क्षेत्र नम्बर ५ (१) को प्रदेशसभा सदस्यका लागि नेकपा (एमाले)का उम्मेदवार नारायण सिलवालले निर्वाचन लक्षित मतदाता भेटघाट कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिका– ४ का जनतासँग प्रत्यक्ष भेटघाट गर्नुभएको छ ।
भेटघाटका क्रममा सिलवालले विगतमा गरेका कामले प्रभावित भएको भन्नुहुँदै जनताले पुनः निर्वाचित गराएर पठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । हरेक वर्ष जनतासँग जनप्रतिनिधि कार्यक्रममार्फत समस्या सुन्ने र समाधान गर्ने नेताको रुपमा स्थापित भएको भन्दै जनताले सिलवालको प्रशंसा गरेका हुन् ।
२०७४ को निर्वाचनमा निर्वाचित भएपछि सिलवालको पहलमा वडा नम्बर ४ मा १५ वटा पार्क निर्माण सम्पन्न भएको छ । शंखपार्क, मनमोहन पार्क, धुम्बाराही पार्क, सुकेधारास्थित कृष्णगल्लीको पार्क, लम्टानिङ टुसाल पार्कलगायतका १५ वटा पार्क त्यहाँ निर्माण भएका छन् । एउटै वडामा यति धेरै पार्क बन्नु ठूलो उपलब्धि भएकाले फेरी सिलवाललाई जिताएर बाँकी रहेका विकास निर्माणका काम गर्ने अवसर जनताले दिन चाहेको बताउने गरेका छन् ।
पार्कका अलावा विभिन्न मठ मन्दिर निर्माणको काम पनि सम्पन्न भएको छ । टुँडालदेवी मन्दिर, बंशिधर श्रीकृष्ण मन्दिर, विन्धवासिनी मन्दिर, चुनदेवी मन्दिर पनि निर्माण भएको छ । मठ मन्दिर निर्माणमा जनताको पनि उत्साहजनक सहभागिता र साथ रहने गरेको सिलवालले बताउनुभएको छ । पार्क, मठ, मन्दीर र अन्य विकास निर्माणका हिसाबले वडा नम्बर ४ काठमाडौं महानगरको ३२ वटा वडामध्येकै उत्कृष्ट मानिन्छ ।
अघिल्लो कार्यकालमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र वडा नम्बर ४ को वडा कार्यसमितिको सहकार्यमा सिलवाल विकास निर्माणका काम गर्न सफल हुनुभएको थियो । पोखरेल उपप्रधानमन्त्री र वडा पनि एमालेले नै जितेकाले अघिल्लो कार्यकालमा सिलवाललाई काम गर्न सहज भएको भन्दै अहिले पनि एमालेकै उम्मेदवारलाई जिताउनुपर्ने त्यहाँका जनताको मत रहेको छ ।
स्वयम सिलवालले पनि वडा, प्रदेश र प्रतिनिधिसभामा एउटै दलको उम्मेदवारले जितेको अवस्थामा विकास निर्माणका काम गर्न सहज हुने अनुभव गर्नुभएको छ । अहिले पनि स्थानीय तहको निर्वाचनमा वडा नम्बर ४ को वडाध्यक्षसहित टिम नै एमालेको उम्मेदवार विजयी भएका छन् । अब प्रदेशसभामा सिलवाल र प्रतिनिधिसभामा पोखरेललाई विजयी गराएर काम गर्न सहज बनाउनुपर्ने सिलवालको धारणामा जनताले ऐक्यवद्धता जनाएका छन् ।
भेटघाटका क्रममा सिलवालले जनतासँग जनप्रतिनिधि कार्यक्रममा सहभागि भएर आफ्नो निर्वाचन क्षेत्रमा भएका हरेक समस्या समाधान गर्दै आएको स्मरण गर्नुभयो । जनताको शक्तिबिना केही काम गर्न नसक्ने उल्लेख गर्दै सिलवालले जनप्रतिनिधलाई जनताको साथ भएन भने पानी बिनाको माछा जस्तै हुने बताउनुभयो । त्यस क्षेत्रका जनताले पनि सिलवालको धारणालाई मनन गर्दै हरेक काममा साथ दिदै आएका छन् ।
प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि विकास निर्माणका कामका अलावा प्रदेशको नीति निर्माणमा पनि आफू सक्रिय रहने सिलवालको भनाई छ । सिलवालको निर्वाचन क्षेत्रमा पर्ने काठमाडौं महानगरको वडा नम्बर २,४ र ५ मा स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेदवारले जितेका थिए । आफ्नो निर्वाचन क्षेत्रको तीन वटै वडा एमालेले जितेकाले आफूलाई चुनाब जित्न सहज हुने सिलवालको बुझाई छ । जनताले पनि त्यस क्षेत्रमा एमालेको विकल्प नखोज्ने बताएका छन् ।













प्रतिक्रिया दिनुहोस्