बुटवल, १३ कात्तिक । आफैँले घरमा बम राखेको आशंकामा राष्ट्रिय स्वतन्त्र पार्टीका रुपन्देही–२ का प्रतिनिधिसभा उम्मेदवार गणेश पौडेल शंकाको घेरामा पर्नुभएको छ । प्रहरीले उहाँमाथि बम राखेको हुनसक्ने आशंकाका आधारमा अनुसन्धान थालेको छ । आज बिहानै बुटवल–१२ नयाँ गाउँमा रहेको आफ्नो घरमा बम जस्तो शंकास्पद वस्तु फेला परेको भन्दै पौडेलले सञ्चारकर्मीहरूलाई समाचार बनाउन आग्रह गर्नुभएको थियो ।
तर, नेपाली सेनाको बम डिस्पोजल टोली पुगेर डिस्पोज गर्न खोज्दा उक्त वस्तु बम नभएको र खाली प्रेस कुकर मात्र भएको पुष्टि भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएपसी ठगबहादुर केसीले बताउनुभयो । उक्त शंकास्पद वस्तु पौडेल आफैँले राखेको वा राख्न लगाएको आशंकापछि पौडेल नै प्रहरीको अनुसन्धानको घेरामा पर्नुभएको हो ।
‘शंकास्पद वस्तु राखियो भनेर प्रायोजित प्रचार गरेर चर्चा कमाउन खोजेको हामीलाई फिल भएको छ,’ इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएपसी ठगबहादुर केसीले भन्नुभयो,‘हामी उहाँ (गणेश पौडेल) को कल डिटेल, मुभमेन्ट सबै अनुसन्धान गर्छौं ।’
रुपन्देही–२ मा सत्ता गठबन्धन उम्मेदवारविहीन भएपछि पौडेलले आफूलाई समर्थन गर्न आग्रह गर्दै केही दिनअघि पत्रकार सम्मेलन समेत गर्नुभएको थियो । तर, त्यसको भोलिपल्ट सत्ता गठबन्धनले राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापालाई समर्थन गरेको छ । रुपन्देही–२ मा नेकपा एमालेबाट पार्टी उपाध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेल उम्मेदवार हुनुहुन्छ ।
पौडेलले भने आफू बिहान घर बाहिर निस्कंदा कार्टुनमा शंकास्पद वस्तु र कागजमा खतरा लेखिएको देखेपछि प्रहरी र सञ्चारकर्मीलाई खबर गरेको बताउनुभयो । स्थानीय एक राजनीतिक दलका अगुवाले शंकास्पद वस्तु राख्नैपर्ने भए जिल्लाका अरु ठूला दलका चर्चित उम्मेदवारकै घरमा राख्नुपर्ने भन्दै यो केवल चर्चा र सहानुभूति बटुल्ने प्रायोजिक काम भएको दावी गर्नुभयो ।












प्रतिक्रिया दिनुहोस्