जनता टाइम्स

२५ कार्तिक २०७९, शुक्रबार १७:५३

बिपीकी नातिनी मनिषाले ओकलिन कांग्रेसबिरुद्ध आगो


काठमाडौं, कात्तिक २५ । चर्चित अभिनेत्री तथा कांग्रेसका संस्थापक नता बिपी कोइरालाकी नातिनी मनीषा कोइरालाले कांग्रेस नेतृत्व बिपीको आदर्शबाट च्यूत भएको भन्दै आगो ओकल्नुभएको छ ।

बिपीले स्थापना गरेको कांग्रेसले नै उहाँको बाटोभन्दा बाहिर गएको भन्दै कोइरालाले कांग्रेस होइन, राप्रपातिर मतदान गर्न अपिल गर्नुभएको हो । राप्रपाले पोखरामा आज आयोजना गरेको सभामा मनीषाले भन्नुभयो, ‘कांग्रेसले बिपी बालाई बिर्सियो, अरूले पनि बिर्सेका होलान, तर राजेन्द्र लिङ्देनले बिर्सेका छैनन ।’

कांग्रेसका संस्थापक बिपी कोइरालालाई अरूले बिर्सिए पनि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सम्झिरहने उहाँको भनाई थियो । ‘अरू सबैले बिपी बालाई बिर्सेका होला, तर उहाँ (लिङ्देन)ले बिर्सेको रै’नछ,’ मनिषाको भनाई थियो । बिपीका नातिनीसमेत रहेकी कोइरालाले राजा महेन्द्र र बिपीबीच राम्रो सम्बन्ध रहेको दावी पनि गर्नुभयो ।

‘तपाईंहरूलाई थाहा छ कि छैन, व्यक्तिगत रूपमा श्री ५ महेन्द्र सरकार र बिपी बामा एकदम राम्रो आदर भाव हुँदाहुँदै पनि त्यो बखत मुलुकले ठूलो अवसर गुमाएको छ,’ मनिषाको भनाई थियो, ‘किनकी, उहाँहरूले सहकार्य गर्न पाउनुभएन। अहिले फेरि त्यो मौका आएको छ ।’