बुटवल, २७ कात्तिक । सत्तारूढ गठबन्धनको समर्थनमा रुपन्देही क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार घनश्याम भुसाल यतिबेला मतदाता भेटघाटमा व्यस्त हुनुहुन्छ । नेता भुसालले मतदाताको घरमा पुगेर सर्वसाधारणलाई आफ्नो एजेन्डाको विषयमा जानकारी गराइरहेका छन् । तर, मतदाताले उहाँलाई प्रश्नै प्रश्न गरेका छन् ।
आज रोहिणी गाउँपालिकाका भित्री बस्तीमा पुग्दा शिक्षा, स्वास्थ्य र सडकको पहुँच राम्रोसंग पुग्न नसकेको भन्दै मतदाताले गुनासो गरे । भत्केको सडक देखाउँदै स्थानीयहरू मतदाताले छेदि गुप्ताले भुसालसंग भने, ‘यो बाटोको हालत हेर्नुहोस्, तपाईं जितेर आउनुहुन्छ किन विकास हुन्न ?’
आफूहरू पटक–पटक ठगिएको भन्दै आक्रोशित मुद्रामा देखिएका स्थानीय वृद्ध मतदाता गुलहसन नाउँले पनि भोजपुरी भाषामा आफ्नो गुनासो पोख्नुभयो । उहाँ भन्नुभयो, ‘तपाईं यहीँको मान्छे पनि हो, विकास गर्नुहोला, भ्रष्टाचार नगर्नुहोला ।’ स्थानीय अर्की मतदाता सुभावती यादवले भत्किएको बाटोले बारम्बार साईकल पन्चर हुने गरेको गुनासो गर्नुभयो ।
साइकल समेत राम्ररी चल्न नसक्ने बाटोमा किसानले उत्पादन गरेका तरकारी ढुवानी गर्न निकै कठिन भएको उहाँले बताउनुभयो । मतदाताको गुनासो र सुझाव सुनेपछि भुसालले यस क्षेत्रको विकासका लागि आफूले इमान्दार भएर काम गर्ने र बोलेको कुरा पूरा गरेरै छाड्ने प्रतिबद्धता दोहोर्याउनुभयो । उहाँले भन्नुभयो,‘शिक्षा, स्वास्थ्यको अवस्था नाजुक छ, सडकका खाल्डाखुल्डीको अवस्था उस्तै छ, यस विषयमा म निकै चिन्तित छु ।’
मतदाता भेटघाटका क्रममा भुसालले रोजगारी बृद्धि, गरिबी नियन्त्रण, निःशुल्क गुणस्तरीय शिक्षा, गुणस्तरीय सर्वसुलभ स्वास्थ्य सेवा, लगायत जनचासो र सरोकारका विषयमा आफू सधैँ प्रतिबद्ध रहेको बताउनुभयो । दैनिक गुजाराका लागि रोजगारी सिर्जना नहुँदा युवाहरु भारत तथा तेस्रो मुलुक पलायन हुने बाध्यता रहेको भन्दै स्वदेशमै रोजगारीको सृजनाको लागि आफू प्रतिबद्ध भएर लाग्ने उहाँले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्