काठमाडौं, १ मंसिर । गुल्मी क्षेत्र नम्बर–२ मा नेकपा एमालेको तर्फबाट उम्मेदवार बन्नुभएको सचिव गोकर्ण बिष्टले आफूले जिते देशभित्र र देशबाहिर काम गर्ने नेपालीहरूको स्वाभिमान र आत्मसम्मानमा ठेस आउन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बिष्टले यसअघि काम गरेका आधारमा आफूलाई भोट दिन मतदातासँग आग्रह गर्नुभयो ।
‘म मन्त्री भएका बेला वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको पक्षमा कदम चालेको थिएँ,’ उहाँले भन्नुभयो,‘यसका लागि अब मैले विगतमा भन्दा धेरै भूमिका निर्वाह गर्छु । वैदेशिक रोजगारीमा जाने, ठगिने, जोखिमयुक्त काम गर्ने तर त्यो अनुसारको पारिश्रमिक नपाउने नेपालीहरूको सुरक्षाका लागि थप कदम चाल्नेछु ।’
उहाँले एकातिर देशभित्रको ठगीलाई बन्द गर्ने र अर्कोतिर सम्मानजनक काम गर्ने श्रमिकहरूको सामाजिक सुरक्षा, शर्तहरूको पालनासहित सम्मानजनक ढंगले काम गर्ने व्यवस्था मिलाउनका लागि आफूले शर्त राखेको र त्यही शर्तमा आउन मलेसियालाई बाध्य बनाएको उहाँले बताउनुभयो ।
‘कैयौं देशसँग श्रम सम्झौताका लागि प्रकृया अघि बढाएका थियौं,’ बिष्टले भन्नुभयो,‘विदेशमा काम गर्ने नेपाली युवाहरू, जसको श्रमले नेपालको अर्थतन्त्र टिकेको छ, आज वैदेशिक रोजगारीमा जाने नेपालीहरूको जीवनको सुरक्षा गर्न सकेनौं भने हामी असफल हुन्छौं ।’
उहाँले आफू २०५६ सालदेखि अहिलेसम्म ११ वर्ष ७ महिना सांसदको भूमिकामा रहँदा आफ्नो क्षेत्रमा विद्युतीकरण, पिउने पानी, सडक, विद्यालयको सुधार, स्वास्थ्य चौकी, अस्पताल निर्माण, जनताको आर्थिक स्थितिलाई रुपान्तरण गर्ने खालका कार्यक्रमहरू सहित जनताको जीवनस्तर माथि उठाउने प्रयास गरेको दाबी गर्नुभयो ।
‘केही कामहरू पूरा भएका छन् तर थुप्रै कामहरू अधुरा छन् । त्यसकारण मैले फेरि पनि उम्मेदवारी दिएको हुँ,’ बिष्टले थप्नुभयो,‘यहाँको जनताको सद्भाव र मायाले नै मलाई यहाँ तानिरहन्छ ।’ उहाँले निर्वाचनमा मापदण्ड पुगेका धेरै उम्मेदवारहरू मैदानमा आउन सक्ने भएकाले त्यसप्रति कुनै टिप्पणी नगर्ने बताउनुभयो ।
‘हामी हामीले नै काम गरेको आधारमा चुनाव जित्न चाहन्छौं, अरूले के गरेको छ भनेको छ भन्नेमा मेरो कुनै चासो छैन,’ उहाँले भन्नुभयो । उहाँले निजी क्षेत्रलाई संरक्षण गरेरै राज्य अघि बढ्नुपर्ने भएकाले आफूले जितेपछि त्यही अनुसारको नीति निर्माणलाई प्राथमिकता दिने बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्