जनता टाइम्स

१५ मंसिर २०७९, बिहीबार १७:५०

अवको प्रधानमन्त्री देउवा नै हो, अरु दावेदारको कुनै अर्थ छैन : उपसभापति खडका


काठमाडौं, मंसिर १५ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अवको प्रधानमन्त्री शेरबहादुर देउवा नै हुने ठोकुवा गर्नुभएको छ ।

महामन्त्री गगन थापासहित चार जना नेताले प्रधानमन्त्रीको दावी गरिरहेको बेला उपसभापति खडकाले कांग्रेसमा देउवाको बिकल्प नभएको भन्दैसंसदीय दलको नेतामा सभापति देउवाको नै हुने बताउनु भयो ।

बिहीबार नेपाली कांग्रेसका नेता स्व. कृष्णप्रसाद भट्टराई आश्रम बाँडेगाउँमा भट्टराईको शालिकमा श्रद्धाञ्जली अर्पण गर्न पुग्नुभएका खडकाले देउवा नै अगाडि आएपछि धेरै दायाँ बायाँ कुरा गर्न आवश्यक नभएको बताउनु भयो ।

कांग्रेसमा सभापति देउवासहित महामन्त्री थापा, बरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, र डा. शशांक कोइराला प्रधानमन्त्रीको दावेदार हुनुहुन्छ । महामन्त्री थापाले त संसदीय दलको नेतामा आफ्नो उम्मेदवारी हुने बताइसक्नु भएको छ । नेताहरुको दावीबीच उपसभापति खडकाले देउवा नै दलको नेता हुने बताउनु भयो ।

‘नेपाली कांग्रेसका सभापति, प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन र हामी निर्वाचनमा होमिएका छौँ । अहिलेको परिस्थितीमा सभापति शेरबहादुर देउवाले संसदीय दलको नेताको चाहना राख्ने कुरा अगाडि आएपछि अरुले धेरै दायाँ बायाँ कुरा गरिराख्नुपर्छ जस्तो मलाई लाग्दैन,’ खडकाले भन्नुभयो ।