जनता टाइम्स

१७ मंसिर २०७९, शनिबार ०८:०७

समानुपातिकमा १ करोड ३ लाख ९२ हजार मतगणना सकियो : को को बने राष्ट्रिय पाटी ?


काठमाडौं, १७ मंसिर । समानुपातिकतर्फको मतगणना पनि अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ । अहिलेसम्म १ करोड ३ लाख ९२ हजारभन्दा बढी मतगणना सकिएको छ । एमालेले सबैभन्दा बढी २७ लाख ७९ हजार मत पाएको छ ।कांग्रेसले २६ लाख ४८ हजार, माओवादी केन्द्रले ११ लाख ६१ हजार, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २१ हजार मत पाएका छन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ८६ हजार, जनता समाजवादी पार्टी नेपालले ४ लाख २० हजार र जनमत पार्टीले ३ लाख ९४ हजार मत पाएका छन् ।एकीकृत समाजवादीले २ लाख ९४ हजार मत पाएको छ । निर्वाचन आयोगले अहिलेसम्म सात वटा राजनीतिक दलहरुले राष्ट्रिय पार्टीको मान्यता पाएको जनाएको छ । निर्वाचन आयोगका अनुसार अहिलेसम्मको मतपरिणामले नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले राष्ट्रिय मान्यता प्राप्त दल बन्न पाउने गरी ३ प्रतिशत थ्रेस होल्ड कटाएका छन् ।दोलखा, बाजुरा र स्याङ्जा भने मतगणना चलिरहेकाले त्यसको परिणाम आउन बाँकी छ ।

आयोगले पर्सिसम्म समानुपातिकतर्फको मतगणना सक्ने जनाएको छ । समानुपातिकमा दलहरुले पाएको मत सङ्ख्या अनुसार उनीहरुले बन्दसूचीमा पठाएका सांसदहरु निर्वाचित हुनेछन् । त्यसका लागि आयोगले दलहरुले प्राप्त गरेको सङ्ख्या पठाउने र दलहरुले आफूले बन्दसूचीमा पेस गरेका नामावलीको क्रम सङ्ख्या तलमाथि नहुने गरी निर्वाचन आयोगमा नामावली पठाउनेछन् ।त्यसो गर्दा एक तिहाइ महिलाहरुको सङ्ख्या भने राजनीतिक दलहरुले पठाउनै पर्ने कानुनी व्यवस्था रहेको छ । ११० सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ । प्रतिनिधि सभामा समानुपातिकतर्फ ३ प्रतिशत मत नल्याउने दलले समानुपातिकतर्फ एक सिट पनि पाउँदैनन् ।