जनता टाइम्स

१७ मंसिर २०७९, शनिबार १५:४९

चितवनमा घण्टीको आकर्षण : समानुपातिकमा माओवादीभन्दा साढे तीन गुणा बढी मत (सूचीसहित)


चितवन, मंसिर १७ । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फ सवैभन्दा बढी मत पाएको छ । निर्वाचन आयोगको तथ्यांकअनुसार रास्वपाले चितवनका ३ वटै निर्वाचन क्षेत्रमा सबैभन्दा बढी मत प्राप्त गरेको हो ।

प्रत्यक्षतर्फ दुई वटा निर्वाचन क्षेत्रमा जितेको रास्वपाले समानुपातिकतर्फ भने ३ वटै निर्वाचन क्षेत्रमा सबैभन्दा बढी मत प्राप्त गरेर इतिहास कायम गरेको हो ।

रास्वपाले चितवनको तीन वटै निर्वाचन क्षेत्रबाट ९९ हजार ३८ मत प्राप्त गरेको छ भने एमाले ५५ हजार ३१२ मतसहित दोस्रो र कांग्रेस ३९ हजार ३५१ मतसहित तेस्रो स्थानमा रहेको छ । चितवनबाट रास्वपाले एमाले र कांग्रेसको जोडदासमेत ४ हजार ३ सय ७५ मतले अगाडि पुगेको हो । चितवनबाट माओवादीले २९ हजार ४६२ मत पाएको छ ।

चितवनको क्षेत्र नम्बर एकमा रास्वपाले ३४ हजार ६९१ मत प्राप्त गर्दा नेकपा (एमाले) ले २४ हजार ६ मत पाएको छ भने नेपाली काँग्रेसले १६ हजार ६९५, राप्रपाले ५ हजार ८२, (माओवादी केन्द्र)ले ४ हजार ९६५ र नेकपा एसले ३ हजार ५१८ मत प्राप्त गरेको छ ।

यस्तै रास्वपाका अध्यक्ष रवि लामिछाने निर्वाचित भएको निर्वाचन क्षेत्र नम्बर २ मा सो पार्टीले सबैभन्दा बढी ३५ हजार ९४५ मत पाएको छ । यसैगरी एमालेले १६ हजार ७८४, काँग्रेसले १२ हजार १३२, माओवादी केन्द्रले ८ हजार ४०७, राप्रपाले ३ हजार २१८, नेकपा एसले ६१६ मत मात्रै प्राप्त गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विक्रम पाण्डेले निर्वाचन जितेको क्षेत्र नम्बर ३ मा पनि रास्वपाले नै पहिलो मत पाएको छ । सो क्षेत्रमा राप्रपा भन्दा रास्वपाले ११ हजार भन्दा बढी मत प्राप्त गरेको छ । उक्त निर्वाचन क्षेत्रमा रास्वपाले २८ हजार ४०२ मत प्राप्त गर्दा राप्रपाले १६ हजार ७५५ मत पाएको छ ।

सो क्षेत्रमा तेस्रोमा नेकपा माओवादी केन्द्र ले १६ हजार ९० मत प्राप्त गरेको छ भने नेकपा एमालेले १४ हजार ५२२ र नेपाली काँग्रेसले १० हजार ५२४ मत प्राप्त गरेको छ । यस्तै नेकपा एसले १ हजार ८५ मत पाएको छ ।