जनता टाइम्स

१८ मंसिर २०७९, आईतवार ०८:३३

नेकपा एमालेका नेता गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला


काठमाडौं, १८ मंसिर । नेकपा एमालेका नेता एवम् नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाको भक्तपुरस्थित घरमा शंकास्पद वस्तु फेला परेको छ ।भक्तपुरको लोकन्थलीस्थित बास्कोटाको घरको पेटीमा प्रेसर कुकर बमजस्तो देखिने शंकास्पद वस्तु भेटिएको हो ।

अहिले प्रहरीको टोली सो स्थानमा पुगेको छ ।जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी प्रजित केसीले शंकास्पद वस्तु देखिएपछि नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएको जानकारी दिनुभयो । ‘शंकास्पद वस्तु देखिएपछि हामी रिस्क लिंदैनौं, आर्मीको डिस्पोजल टोलीलाई बोलाएका छौं, त्यसलाई डिस्पोज उसैले गर्छ,’ एसपी केसीले भन्नुभयो ।

आज बिहान छिमेकीले शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । यसअघि बास्कोटाको घर बन्दै गर्दा २०७६ फागुनमा बम विष्फोट भएको थियो ।अहिले बास्कोटा काभ्रेस्थित घरमा रहेको उहाँको सचिवालयले जनाएको छ ।