काठमाडौं, २१ मंसिर प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिक मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार एक करोड पाँच लाख ६० हजार ८२ मतगणना भएको छ । आयोगका अनुसार समानुपातिकतर्फ नेकपा एमालेले २८ लाख ४५ हजार छ सय ४१ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले २७ लाख १५ हजार दुई सय २५ मत प्राप्त गरेको छ । त्यस्तै माओवादी केन्द्रले ११ लाख ७५ हजार ६ सय ८४, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार तीन सय ४४, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८८ हजार ८ सय ४९, जनता समाजवादी पार्टीले ४ लाख २१ हजार तीन सय १४, जनमत पार्टीले ३ लाख ९४ हजार ६ सय ५५ तथा नेकपा ९एकीकृत समाजवादी०ले २ लाख ९८ हजार ३ सय ९१ मत प्राप्त गरेको छ । प्रतिनिधिसभामा कुल १२ दलको प्रतिनिधित्व हुने भएको छ ।
मङ्सिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको मतगणना यसअघि नै सकिएको छ । प्रत्यक्षतर्फ नेपाली कांग्रेसले ५७, एमालेले ४४, माओवादी केन्द्रले १८ ठाउँमा जितेको छ । त्यस्तै एकीकृत समाजवादीले १०, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले ७/७ ठाउँमा जितेका छन् । यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीले ४ र नागरिक उन्मुक्ति पार्टीले ३ ठाउँमा जितेका छन् । राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीले एकरएक ठाउँमा विजयी भएका छन् ।
स्वतन्त्र उम्मेदवारहरुले पाँच ठाउँमा जितेका छन् । निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फ सबै मतगणना सकिएपछि प्राप्त मत र भारका आधारमा दलहरुले प्राप्त गर्ने सिट सङ्ख्या निर्धारणको तयारी गरेको छ । विवरण अनुसार एमाले, कांग्रेस, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा र जनमत गरी ७ दल राष्ट्रिय पार्टी बन्न सफल भएका छन् । एकीकृत समाजवादीले प्रत्यक्षमा १० सिट जिते पनि थ्रेसहोल्ड कटाउन नसक्दा राष्ट्रिय दल बन्न सकेन ।
प्रत्यक्ष र समानुपातिक गरी नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ । नेकपा एमाले दोस्रो भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत र नागरिक उन्मुक्ति पार्टी पहिलो पटक संसद् प्रवेश गर्दैछन् । निर्वाचन आयोगले आज सम्बन्धित दललाई पत्र पठाउने तयारी गरेको छ ।
प्रतिनिधिसभातर्फ कूल सदर मतको तीन र प्रदेशसभातर्फ कूल सदर मतको एक दशमलव पाँच प्रतिशत मत ल्याउने दलले थ्रेस होल्ड कटाएको मानी सिट निर्धारण गरिनेछ ।आयोगमा दलहरूले बुझाएको समानुपातिकका उम्मेदवारको बन्दसूचीका आधारमा दलहरूले पाउने सिट सङ्ख्यासहित नाम समावेशी समूह मिलाएर सिफारिसका लागि दलहरूलाई पत्राचार गर्नेछ । आयोगले यही मङ्सिर २६ गतेभित्रमा चुनावी मतपरिणामको प्रतिवेदनसहित राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाउने तयारी गरेको छ ।













प्रतिक्रिया दिनुहोस्