जनता टाइम्स

२३ मंसिर २०७९, शुक्रबार १३:३१

वामपन्थी पार्टी एमाले मात्रै हो, तत्काल वाम एकता हुन्न : विष्णु पौडेल


बुटवल, २३ मंसिर । एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले वामपन्थीबीच सहकार्यको सम्भावना नरहेको बताउनुभएको छ । मुलुकमा एमाले मात्रै वा शक्ति रहेको दाबी गर्दै पौडेलले भन्नुभयो,‘सहकार्यको प्रश्नै छैन, एमाले मात्रै वामपन्थी पार्टी हो अनि कोसँग सहकार्य गर्ने ?’

आज बुटवल कालिका क्याम्पसको नवनिर्मित भवन उद्घाटन एवं वार्षिकोत्सव समारोहमा पौडेलले एमालेले अहिले सरकार निर्माणको प्रयास नगर्ने र सशक्त प्रतिपक्षीको भूमिकामा बस्ने बताउनुभयो । ‘प्राप्त जनादेशको सम्मान गर्दै एमाले प्रतिपक्षमा बस्छ, हामी अहिले सरकारको दौडमा छैनौं’, उहाँले भन्नुभयो ।

बहुमत ल्याउने उद्देश्यसहित एमाले चुनावमा गए पनि त्यसअनुरूप परिणाम नआएकाले सरकार बनाउनेतर्फ एमालेको ध्यान नरहेको उहाँको भनाइ छ । ‘चुनावबाट हामीले बहुमत हासिल गर्ने लक्ष्य लिएका थियौं, तर त्यो सम्भव भएन, त्यसकारण हामी प्रतिपक्षमा बस्छौं’, पौडेलले थप्नुभयो ।

एमालेलाई कर्नरमा पार्न सत्तामा रहेका दलहरूले गठबन्धन गरेकाले एमाले दोस्रो दल बन्न पुगेको भन्दै पौडेलले गठबन्धनले विभिन्न टुक्राटुक्री जोडेर सरकार बनाउने बताउनुभयो । पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलले एमाले प्रतिपक्षमा रहे पनि आफ्नो सरकारको पालामा अघि बढाइएका विकास आयोजनना पूरा गर्न सक्रिय भूमिका खेल्ने बताउनुभयो ।

उहाँले रुपन्देहीलाई पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन र दक्ष जनशक्तिका हिसाबले मुलुककै अग्रणी र रोलमोडल जिल्ला बनाउने आफ्नो अभियानमा कमी आउन नदिने दाबी पनि गर्नुभयो । अस्थायी मुकाम बुटवलबाट प्रदेशका मन्त्रालयलगायत संरचनाहरू पूर्वाधार नबन्दै रातारात दाङमा लैजाने काम गलत भएको पौडेलले टिप्पणी गर्नुभयो ।

प्रदेशको राजधानीबारे निर्णय गर्ने अधिकार प्रदेश सभाको भएपनि अहिलेको सरकारले विधि प्रक्रिया मिचेर हतार मन्त्रालय सार्ने निर्णय गलत भएको उहाँको भनाइ छ । राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका नयाँ दलहरूको उदयबारे सोधिएको प्रश्नमा नेता पौडेलले उनीहरूको कामबाट परीक्षा हुने टिप्पणी गर्नुभयो । उहाँले बुटवल कालिका क्याम्पसले छोटो अवधिमै उल्लेख्य प्रगति गरेकोमा सराहना गर्नुभयो ।