जनता टाइम्स

२६ मंसिर २०७९, सोमबार १८:३१

आचारसंहिता हटेसँगै बजार व्यवस्थित गर्दै बुटवल उपमहानगर


बुटवल, २६ मंसिर । बुटवल उपमहानगरपालिकाले बुटवल नगर क्षेत्रलाई व्यवस्थित बनाउने अभियान सुरु गरेको छ । सरोकारवालासँगको छलफल तथा बैठकपछि बुटवलले मुख्य राजमार्ग क्षेत्र, अत्यावश्यक सेवा क्षेत्र, मुख्य चोकहरु, ठेला, ईरिक्सा व्यवस्थापनको काम सुरु गरेको हो ।

निर्वाचन आचारसंहिता सकिएलगत्तै बुटवल नगरलाई सफा, सुन्दर र स्वच्छ बनाउने अभियान सुरु गरिएको नगर प्रमुख खेलराज पाण्डेयले बताउनुभयो । उहाँले सडकको क्षेत्राधिकार मिचेर गर्ने व्यवसाय, पार्किङ, निर्माण सामग्री र सडक, फुटपाथ अवरोध हुने वस्तु नराख्न आग्रह गर्दै अटेर गरिएमा कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउने बताउनुभयो ।

‘हामी निर्वाचन आचारसंहिताका कारण चाहेर पनि केही कामहरु शुरु गर्न सकेका थिएनौं,’ उहाँले भन्नुभयो,‘बुटवल नगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउनका लागि सबैले उत्तिकै भूमिका निर्वाह गर्न जरुरी छ, जसका लागि सबैले सडक क्षेत्रमा व्यवसाय नगर्ने, पार्किङ नगर्ने या नियमानुसार व्यवस्थापन गर्ने काम गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’

अहिले ठेला व्यवस्थापनको काम सुरु गरेको बताउँदै उहाँले अनधिकृत रुपमा सडक क्षेत्रमा ठेला नराख्न, इरिक्सा चोकमा पार्किङ गरेर सवारी जाम गर्ने, एम्बुलेन्स आवागमनमा समेत अवरोध पुर्‍याउनेलाई कानुनअनुसार कारबाही गर्ने बताउनुभयो । जसअनुसार बुटवलले केही दिन अघिदेखि माइकिङ गर्दै सडक क्षेत्रमा ठेला नराख्न र पार्किङ व्यवस्थापन गर्न आह्वान गर्दै आएको थियो ।

आजदेखि अस्पताल लाइनमा अत्यावश्यक तथा अस्पतालमा आउनेजाने बाहेकका सवारी पार्किङ तथा फुटपाथको व्यापार व्यवसाय हटाइएको छ । सडकक्षेत्रमा राखिएका मोटरसाईकल रिकण्डिशन, वर्कसप, शोरुम, फर्निचर व्यवसाय, निर्माण तथा अन्य सबैखालका व्यापार व्यवसाय हटाउन आह्वान गरिसकिएकाले छिटै नै अनुगमन गरी कारबाही अघि बढाउने नगरप्रमुख पाण्डेयले बताउनुभयो ।

‘नगर सफा र सुन्दर भएन, अव्यवस्थित भयो भनेर आफै भन्ने अनि व्यवस्थित गर्न खोज्दा अटेरी गर्ने काम ठीक भएन, उहाँले भन्नुभयो, ‘नगरलाई सफा र सुन्दर राख्ने काम हरेक बुटवलबासीको पनि हो, यसमा सबैले बुटवल उपमहानगरपालिकालाई सहयोग गर्नुपर्छ, हामी कानुनअनुसार नै अघि बढेका छौं ।’

यस्तै, नगरभित्र ठूलो आवाजमा हर्न बजाउने र मोटरसाइकल मोडीफाई गर्ने, ध्वनि प्रदुषण गर्नेहरुलाई कारबाही थालिएको छ । ट्राफिक प्रहरीसँगको समन्वयमा रातीको समयमा समेत ध्वनि प्रदुषण गर्नेलाई अनुगमन गरी कारबाही अघि बढाएको बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले जानकारी दिनुभयने ।

उहाँले सडक क्षेत्रमा ठेला लगाएर अखाद्य मासु र मदिराको समेत व्यापार गर्ने गुनासो आएकोले त्यस्ता व्यवसायलाई कडा कारबाही गर्ने निर्णय भएको बताउनुभउयो । उहाँले बुटवल क्षेत्रका हाटबजार व्यवस्थापन गर्ने र तोकिएका स्थानमा बाहेक अन्यत्र बजार लगाउन नपाउने गरी हाटबजार व्यवसायीलाई आग्रह गरेको र छिटै नै अन्यत्रका बजार हटाउने बताउनुभयो ।