जनता टाइम्स

२७ मंसिर २०७९, मंगलवार १२:२९

अध्यादेशबिरुद्ध सडकमा लाग्यो नारा : रेशम चौधरी बहाना हो, अफ्ताव छुटाउने चाहना हो


काठमाडौं, मंसिर २७ । नेकपा एमाले निकट बिद्यार्थी संगठन अनेरास्वबियुले अध्यादेशबिरुद्ध सडक आन्दोलन सुरु गरेको छ । सरकारले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई रिहा गर्ने बहानामा जेलमा रहेका कांग्रेसका नेतालाई छुटाउने प्रपञ्चसहित अध्यादेश ल्याएको भन्दै अखिल बिरोधमा उत्रिएको हो ।

चुनाव सकिएपछि संबिधान मिचेर सरकारले अध्यादेश ल्याउन लागेको भन्दै नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौंमा विरोध प्रदर्शन गरेको हो । मंगलबार बिहान त्रिचन्द्र क्याम्पस अगाडि अनेरास्ववियुले विरोध प्रदर्शन गरेको छ ।

प्रदर्शनमा सहभागी विद्यार्थीहरुले राजनीतिमा अपराधीकरण र अपराधको राजनीतिकरण गर्न बन्द गर्नुपर्ने लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । प्लेकार्डमा ‘रेशम चौधरी बहाना हो, अफ्ताव छुटाउने चाहना हो’ जस्ता नारा लेखिएको छ ।

घण्टाघर अगाडि आयोजित कोणसभामा बोल्नेहरुले अपराधीहरुलाई छुटाउन अध्यादेशको सहारा लिन खोजेको भन्दै सरकारको आलोचना गरे । उनीहरुले रेशम चौधरीको बहानामा कांग्रेस नेता मोहम्मद अफ्ताव आलमलाई छुटाउन खोजिएको बताए ।