काठमाडौं, २७ मंसिर । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आजबाट उमेरहदका कारण सेवानिवृत्त हुनुभएको छ । एक वर्षयता विवाद र महाअभियोगको सामना गरेका जबरा ६५ वर्षे उमेरहदका कारण आजबाट सेवानिवृत्त हुनुभएको हो । ‘६५ वर्षे उमेरहदका कारण उहाँ आजबाट अनिवार्य अवकाश पाउनु भएको छ,’ सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिनुभयो ।
२८ मंसिर २०१४ मा जन्मिएका जबरा ६५ वर्षे उमेरहदका कारण सेवाबाट अनिवार्य अवकाश पाउनुभएको हो । उहाँले १८ पुस २०७५ मा पद तथा गोपनीयताको शपथ लिएर प्रधानन्यायाधीशको कार्यभार सम्हाल्नुभएको थियो । गत १ फागुनमा जबराविरुद्ध संघीय संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएको थियो ।
विधिको शासन, सवैधानिक सर्वोच्चता एवं स्वतन्त्र, सक्षम, निष्पक्ष र जिम्मेवार न्यायपालिकाको जगेर्ना गर्न नसकेको, न्यायपालिकाभित्र विकृति, विसङ्गति, भ्रष्टाचार तथा बिचौलियाहरूले प्रवेश पाएको र रोक्न नसकेको, पदीय मर्यादा र आचरणविपरीत कार्य गरेको लगायत २१ वटा आरोपसहित जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको छ ।
जुन प्रस्तावको प्रतिनिधिसभामा विचाराधीन छ । नयाँ संसदले उक्त प्रस्ताव स्वीकार्ने वा नस्वीकार्ने भन्नेमा दलहरुबीच मतभेद कायमै रहेका बेला जबराले अनिवार्य अवकाश पाउनुभएको हो। महाअभियोग प्रस्ताव दर्ता हुनुअघि जबराविरुद्ध सर्वोच्च अदालत परिसरमा नेपाल बार एसोसिएसनले आन्दोलन गरेको थियो ।
जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसन, सर्वोच्च अदालत बारले मात्र होइन सहकर्मी न्यायाधीशहरु समेतले आन्दोलन गरेका थिए । लामो समय न्यायाधीश र अधिवक्ताहरुको आन्दोलन चलिरहेका बेला जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको थियो । प्रतिनिधिसभाअन्तर्गतको महाअभियोग सिफारिस समितिले जबरालाई महाअभियोग लगाउनुपर्ने कारणसहित प्रतिवेदन बुझाएको थियो ।
तर, उक्त प्रतिनिधिसभाको कार्यकाल समाप्त भयो र नयाँ प्रतिनिधिसधा गठन भएको छैन । यस अवस्थामा आफूविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको जबराले बताउँदै आएका छन् । सोहीअनुसार संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमबाट अघिल्लो हप्ता २१ मंसिरमा महाअभियोग प्रस्ताव निष्प्रभावी भएको पत्र लिएर सर्वोच्च अदालत छिर्ने जबराको प्रयास असफल भयो ।
सर्वोच्च अदालतले उक्त पत्र कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश दिएपछि जबराको सर्वोच्च फर्किने प्रयास अफल भयो । महाअभियोग प्रस्ताव दर्ता भएसँगै निलम्बनमा परेका जबरा सर्वोच्च अदालत नफर्की आज उमेरहदका कारण सेवानिवृत्त भए । जबरा निलम्बनमा परेपछि वरिष्ठतम न्यायाधीश हरिकृष्ण कार्की कायममुकायम प्रधानन्यायाधीशका रूपमा कार्यभार सम्हालिरहेका छन् ।













प्रतिक्रिया दिनुहोस्