बाँके, १ पुस । बाँकेको कोहलपुर नगरपालिकामा विभिन्न स्थानमा चोरी गरेका सातजनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको विशेष प्रहरी टोलीले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो । आज पत्रकार सम्मेलन गरी सातजनालाई चोरीका सामानसहित सार्वजनिक गरेको छ ।
विभिन्न समयमा कोहलपुर नगरपालिकाभित्र भएका चोरीमा संग्लन सातजनालाई प्रहरीले पक्राउ गरेको कोहलपुरका प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिनुभयो । पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–१ कौशिलानगर बस्ने २९ वर्षीय नवीन विक, कोहलपुर–२ विकासनगरका ध्रुवसिंह ठकुरी र दुईजना बालक छन् ।
विकले सञ्चालन गरेको जानकी सुनचाँदी पसलबाट प्रहरीले १३ ग्राम एक सय मिलिग्राम १९ वटा चोरी भएको सुनका टुक्राहरु बरामद गरेको छ । उनकै पसलबाट ३१ तोला २८ लाल सुनचाँदीका तयारी गरगहनासमेत बरामद भएको डिएसपी मल्लले जानकारी दिनुभयो ।
उनीहरुले चोरी गरेका गहना पगालेर वा टुक्रा पारी बेच्ने गरेका थिए । पसलबाटै चाँदीको जस्तो देखिने धातुहरुको पाउजु, औँठीहरु, वाला, हात्तीको पुच्छर, सिक्री र लकेटसमेत बरामद भएको छ । प्रहरीले चोरीका तीन थान मोटरसाइकलसहित एकजनालाई पक्राउ गरेको हो ।
राप्तीसोनारी गाउँपालिका बहुमूल्य मूर्ति चोरी गरेका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिकलाजुङ गाउँपालिका–७ पाँचथरका ५० वर्षीय झर्मेन्द्रप्रसाद रेग्मी र भिमसेन थापा गाउँपालिका–१ गोरखाका ३२ वर्षीय देवबहादुर मग्राती हुन्। रेग्मी र मग्रातीले पहेंलो धातुबाट बनेको पुरानो जस्तो देखिने गौतम बुद्धको ६ किलो चार सय २० ग्रामको मूर्ति बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) ऐनबहादुर मल्लका अनुसार मूर्ति र मूर्ति प्वाल पार्न प्रयोग गरिने मेसिनसहित पक्राउ परेका दुवैजनामाथि प्राचीन स्मारकसम्बन्धी कसूरमा मुद्दा दर्ता गरिएको छ । पक्राउ परेका सातैजना माथि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।













प्रतिक्रिया दिनुहोस्