जनता टाइम्स

२ पुष २०७९, शनिबार १८:३९

कांग्रेसले गर्यो दुई केन्द्रीय सदस्य र मेयरलाई पार्टीबाट निकाल्न सिफारिश


काभ्रे, पुस २ । नेपाली कांग्रेस काभ्रेले दुई केन्द्रीय सदस्यसहित तीन जनालाई कारबाही गर्न सिफारिस गरेको छ। जिल्ला कार्यसमिति बैठकले केन्द्रीय सदस्यद्वय मधु आचार्य र गणेश लामा र पाँचखाल नगरपालिकाका मेयर महेश खरेललाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको हो।

तीन जनै नेताले मंसिर ४ को निर्वाचनमा अन्तर्घात गरेको भन्दै कारबाहीका लागि केन्द्रमा सिफारिस गरिएको जिल्ला सभापति तीर्थ लामाले जानकारी दिनुभयो । सम्पन्न निर्वाचनमा पार्टीको उम्मेदवार हराउनका लागि भूमिका खेलेको भन्दै कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरिएको लामाको भनाई छ ।

त्यस्तै कम मत आएको पालिकामा सम्बन्धित पालिका समितिले स्पष्टीकरण सोध्नसक्ने निर्णय गरेको लामाले बताउनु भयो। प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका नेता गोकुल बाँस्कोटासँग काङ्ग्रेस उम्मेदवार शिवप्रसाद हुमगाईँ भारी मतले पराजीत भएपछि कांग्रेसले यस्तो निर्णय लिएको हो ।