बुटवल, ६ पुस । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलको नेताका लागि चारजना आकांक्षी देखिएका छन् । अर्घाखाँची प्रदेशसभा १ बाट निर्वाचित पूर्वमन्त्री चेतनारायण आचार्यले दाबी गरेसँगै आकांक्षीको संख्या चार पुगेको हो । पार्टी केन्द्रीय सदस्य आचार्य यसअघि शंकर पोखरेल मुख्यमन्त्री हुँदा आन्तरिक मामिला तथा कानूनमन्त्री रहनुभएको थियो ।
यसअघि पूर्वमन्त्री तथा पोलिटब्यूरो सदस्य लिला गिरी, केन्द्रीय सदस्य तथा यसअघि प्रदेशमा प्रमुख सचेतक भएका भुमिश्वर ढकाल, प्रदेश उपाध्यक्ष तथा पूर्वमन्त्री भोजप्रसाद आचार्यले दलको नेता दाबी गर्नुभएको हो । आकांक्षी चारैजना प्रदेश सभामा दोहोरिएर निर्वाचित भएका नेताहरु हो । उहाँहरुमध्ये आचार्य, गिरी र श्रेष्ठ तीन जना पूर्वमन्त्री हो भने ढकाल यसअघि प्रमुख सचेतक हुनुभएको थियो ।
लुम्बिनीमा पार्टी उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले आफू निकटकालाई नेतृत्वमा पुर्याउन चाहेकाले पनि नेताहरुले दौडधुप सुरु गर्नुभएको छ । चेतनारायण आचार्य र भूमिश्वर ढकाल महासचिव पोखरेल निकट मानिन्छन् भने गिरी र श्रेष्ठ उपाध्यक्ष पौडेल निकट मानिन्छन् । यसअघि मुख्यमन्त्री बन्दा शंकर पोखरेललाई सहयोग गरेका कारण आचार्य र ढकाल उनीसँग नजिकिनुभएको हो ।
आचार्यको लागि ढकालले सहयोग गर्ने संकेत गरेको उहाँ निकट नेताहरुले बताएका छन् । संसदीय दलको नेताले प्रदेशमा सरकारको नेतृत्व गर्ने र विपक्षमा रहे पनि दलको नेता हुन पाइने भएकाले नेताहरूको चासो बढेको हो । लुम्बिनी प्रदेशमा प्रत्यक्ष तथा समानुपातिकमा एमाले पहिलो दल भएपनि सरकार बनाउन अन्य दलको साथ आवश्यक पर्नेछ ।
८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सांसद आवश्यक पर्ने भएपनि एमालेसँग २९ सांसद मात्र रहेका छन् भने नेपाली कांग्रेससँग २७ सांसद रहेका छन् । माओवादीसँग ९ र अन्य ७ दलसँग बाँकी सांसद रहेका छन् । अहिलेको सत्तागठबन्धनसँग पनि बहुमत नभएकाले नागरिक उन्मुक्ति र तीनजना स्वतन्त्र सांसदको मत निर्णायक रहने भएको छ ।













प्रतिक्रिया दिनुहोस्